महोत्तरी, वैशाख २१ : महोत्तरीको दुई वस्तीमा अज्ञात रोगबाट मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ । आइतबार बिहान ९ बजे भंगाहा७ स्थित रुपनारायण सिंह दनुवारको ज्यान गएसँगै मृतकको सङ्ख्या १२ पुगेको हो । उनी बिहानसम्म बिरामी नभएको र अचानक बिरामी परेर मृत्यु भएको स्थानीयले बताएका छन् ।
शनिबार मात्रै भंगाहा–६ का ४८ वर्षीय पलट साह र ५५ वर्षीय भारतीय नागरिक (इँटा भट्टामा काम गर्दै आएका) मोतिलाल प्रजापतिको मृत्यु भएको थियो ।
भंगाहा नगरपालिका–७ र बर्दिवास नगरपालिका–१२ एक आपसमा जोडिएका दुई वस्तीमा विगत १० दिनभित्र मृत्यु हुनेको संख्या १२ पुगेको हो । मृतकमा एकै खालको लक्षण देखिएको स्थानीय रामलाल मण्डलले बताए । अचानक पेट दुखेपछि बान्ता आउने र झाडापखला लाग्ने र बिरामीको मृत्यु हुने गरेको स्थानीय बताउँछन् ।
भंगाहा नगरपालिकाका मेयर संजिव साहले व्यक्ति आधा घन्टाभित्रै बिरामी परेर मृत्यु हुने गरेको बताए । ‘पेट दुख्यो भन्दाभन्दै बान्ता गर्छन्,’ मेयर साहले भने, ‘उपचार गर्ने ठाउँसम्म पनि नपुर्याउँदै बिरामीको मृत्यु भइरहेको छ ।’
विषाक्त मदिरा सेवन मृत्युको कारण भएको आशंकामा मृतकको भिसेरा संकलन गरी परीक्षणको लागि काठमाडौं पठाइएको छ । भिसेराको रिपोर्ट नआएसम्म के भएको हो भन्न सक्ने अवस्था नरहेको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका फोकल पर्सन गिरेन्द्र झाले बताए ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट आएको डाक्टरहरुको टोली पनि घटनास्थल पुगेको छ । सम्पूर्ण परीक्षणको रिपोर्ट आएपछि मात्रै रोग यो हो भन्ने सकिने डाक्टरहरुले बताएका छन् ।
महोत्तरीका २ बस्तीमा ४ दिनभित्रै ८ जनाको मृत्यु, रिपोर्ट कुर्दै प्रहरी
मृतकमध्ये केही व्यक्तिको कोरोना आशंकामा आरडीटी परीक्षण गरी स्वाब संकलनसमेत गरिएको थियो । परीक्षण गरिएका मृतकको आरडीटी रिपोर्ट नेगेटिभ आएको र पिसिआर परीक्षणको रिपोर्ट आउन बाँकी रहेको फोकल पर्सन झाले बताए ।