पपुवा न्युगिनीविरुद्धको खेलमा नेपालले टस जित्यो

  फागुन २९, २०७९

काठमाडौँ, २९ फागुन : आइसिसी विश्वकप क्रिकेट लिग २ को त्रिकोणात्मक एकदिवसीय शृङ्खलाअन्तर्गत पपुवा न्युगिनीविरुद्धको खेलमा नेपालले टस जितेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको टसमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । यससँगै अब पपुवा न्युगिनीले पहिला ब्याटिङ गर्ने भएको छ ।

नेपाली टोलीमा आज एक खेलाडीलाई परिवर्तन गरेको छ । नेपाली टिममा रहेका गुलशन झालाई बेञ्चमा राखिएको छ भने उनको स्थानमा करण केसी समावेश छन् ।

नेपालले हिजो भएको खेलमा युएईलाई एक सय ७७ रनले पराजित गर्दै आगामी चार वर्षका लागि एक दिवसीय मान्यता जोगाएको थियो ।

तेस्तै घरेलु मैदनमा भएको पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई हराएको थियो । यसअघि युएई भ्रमणमा पनि नेपालले दुवै खेलमा पपुवा न्युगिनीलाई हराएको थियो ।

आजको खेलमा पनि नेपालले पपुवा न्युगिनीलाई हराउँदै जित सुनिश्चित गर्न चाहन्छ । नेपाल ३४ खेलमा ३६ अङ्कका साथ चौथो स्थानमा छ । अब बाँकी रहेका दुई खेलमा विजयी हासिल गरेमा नेपाल तेस्रो स्थान पक्का गर्दै विश्वकप छनोटको यात्रा पक्का गर्नेछ ।

तेस्रो स्थानको नामिबियाको ३६ खेलमा ३९ अङ्क छ ।
छैटौँ स्थानमा रहेको युएईको ३४ खेलमा ३१ अङ्क छ भने सातौँ स्थानको पपुवा न्युगिनीको समान खेलमा ११ अङ्क छ । ५० अङ्कसहित शीर्ष स्थानमा बसेको स्कटल्यान्ड र ४४ अङ्कसहित दोस्रो स्थानमा बसेको ओमानले भने विश्वकप छनोटको यात्रा तय गरिसकेको छ ।

तपाईको प्रतिक्रिया