काठमाडौं, फागुन २८ : काठमाडौं सुनचाँदी व्यवसायी संघको तालिम भवनको समुद्घाटन भएको छ । जनकवि दुर्गालाल श्रेष्ठ र नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले काठमाडौं महानगरपालिका १७ वडा, कुसुमबियालाछिस्थिति भवनको उद्घाटन शनिबार एक कार्यक्रमबीच गरेका थिए ।
उक्त भवनमा सुनका आधुनिक तथा परम्परागत गहना बनाउनेदेखि लिएर सुन तथा रत्न पहिचान गर्ने तालिम संचालन गरिनेछ । तालिमका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) बाट पनि सम्बन्धन प्राप्त गरिसकेको छ ।
कार्यक्रममा बोल्दै काठमाडौं सुनचाँदी व्यवसायी संघका अध्यक्ष सुरेश शाक्यले सुनका गहना बनाउने नेपाली कालिगढको अभाव रहेको अवस्थामा यस भवनबाट नेपाली कालिगढ उत्पादन गर्नमा धेरै सहयोग पुग्ने बताए । उनले भने, ‘गहना बनाउने स्वदेशी कालिगढ नै नभएकोले नेपाली गहना विदेशी कालिगढमा निर्भर भइरहेको छ । यस अवस्थामा स्वदेशी युवालाई तालिम दिइ रोजगारका अवसर प्रदान गर्ने उद्देश्य लिइ भवनको निर्माण गरिएको हो । सिटिइभिटीबाट सम्बन्धन पनि प्राप्त गरिसकेकोले यहाँ तालिम लिएकाहरुले अन्तर्राष्ट्रिय रुपमा मान्यता पनि पाउने छ ।’
संघको चौधौं साधारण सभा तथा पाँचौं अधिवेशनबाट नै विदेशी कालिगढ विस्थापित गरी स्वदेशी दक्ष कालिगढ उत्पादन गर्ने उद्देश्य लिए अनुसार यो भवन बनाइएको कार्यक्रममा बताइएको थियो । संघको यो दोस्रो भवन हो ।
कार्यक्रममा भवन निर्माण कमिटीका संयोजक तथा संघया पूर्वअध्यक्ष महेन्द्ररत्न शाक्यले भवन बनाउन सहयोग पु¥याउने दाताहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । उनले यो भवन सुनचाँदी सम्बन्धी कार्य गर्ने प्राज्ञिक परिषद र तालिमको मुख्य भवन हुने विश्वास लिएको बताए । भवनमा तालिम कक्षा, प्रयोगशाला, बैठक कोठा, विश्राम स्थलका साथै तालिम लिन आउनेहरुका लागि चमेना गृहसमेत हुने उनले बताए ।
बागमति प्रदेशका सांसद तथा कामनपाका पूर्वउपप्रमुख हरिप्रभा खड्गीले सुनका गहना बनाउने तालिमले युवाहरुलाई विदेश पालयन हुनबाट रोक्न सहयोग पुग्ने बताउँदै भने, ‘अहिले धेरै युवाहरु शिक्षा र तालिमको नाममा विदेश पलायन भइरहेको छ । स्वदेशमै तालिम र रोजगार दिन सके युवाहरुलाई विदेश जानबाट राक्न सकिनेछ । काठमाडौं सुनचाँदी व्यवसायी संघले संचालन गर्न लागेको तालिमले युवाहरुलाई स्वदेश फर्काउन पनि मद्दत गर्नेछ भन्न विश्वास लिएको छु । यही उद्देश्यले काठमाडौं महानगरपालिकामा हामी हुँदा नै भवन बनाउन सहयोग गरेका थियौं ।’
तालिम भवन बनाउन विद्यासुन्दर शाक्य र खड्गी मेयर उपमेयर हुँदा काठमाडौं महानगरपालिकाले ७२ लाख रुपैयाँ सहयोग गरेको थियो । त्यस्तै रत्न–कुसुमका अध्यक्ष सानुराजा वज्राचार्यले काठमाडौं उपत्यकाको वैभव रहेको यहाँको परम्परागत गहना बनाउने स्वदेशी कालिगढ नै घट्दै गइरहेको परिस्थितिलाई मनन गर्न सकेकोमा संघका पूर्व तथा हालका पदाधिकारीहरुलाई धन्यवाद दिँदै भने, ‘देशको समृद्धि व वैभवलाई झल्काउने सुन चाँदीका गहना बनाउन तालिम दिने यो देशकै पहिलो सरकारी मान्यता प्राप्त इन्ष्टिच्यूट भएको छ । मान्यताप्राप्त तालिम हुने भएकोले यहाँबाट उत्पादन हुने शिल्पीहरुलाई रोजगारको अवसर पनि प्राप्त हुनेछ ।’