गौरादह नगरपालिका वडा नं १ का क्यान्सर सङ्क्रमित नन्दलाल ताजपुरिया विपन्नताका कारण उपचार गर्न नसकेर घरमै थलिनुभएको छ ।
फोक्सोको क्यान्सरबाट सङ्क्रमित ताजपुरियाको सामान्य चिया दोकान थियो । रोग लागेपछि उहाँले पसल बन्द गर्नुपर्ने बाध्यताले आश्रित परिवारसमेत विचल्लीमा परेको छ । आर्थिक अभावकै कारण उपचारमा जान नसक्दा आफ्ना पतिको स्वास्थ्यावस्था दिनानुदिन नाजुक बनिरहेको उहाँकी पत्नी कुलोमाया ताजपुरियाले बताउनुभयो । जाँच गर्ने आर्थिक अभावकै कारण उहाँको क्यान्सर कुन चरणमा छ भन्ने पनि थाहा हुन सकेको छैन ।
“बुढालाई रोग लाग्यो, पैसा नभएर औषधी उपचार गर्न सकेका छैनौँ”, उहाँले उपचारमा आर्थिक सहयोगको अपिल गर्दै भन्नुभयो, “ऋणमाथि ऋण छ । भात खानै मुस्किल परिसक्यो, औषधीकाका लागि कहाँबाट पैसा जुटाउनु रु”
घरमै थलिएका ताजपुरियाको अवस्था थप जटिल हुँदै गएको हुँदा उपचारमा सहयोग पु¥याउन उहाँकी पत्नी कुलोमायाले दातासँग अपिल गर्नुभएको छ ।
वडाध्यक्ष नगेन्द्र भण्डारीका अनुसार विराटनगरको नोबेल मेडिकल कलेजमा जाँच गर्दा ताजपुरियाको फोक्सोको क्यान्सर पत्ता लागेको थियो । खर्चकै अभावका कारण उहाँलाई क्यान्सर उपचारका लागि भरतपुरस्थित बिपी कोइराला क्यान्सर अस्पताल लैजान नसकिएको हो ।
“उहाँको उपचार सुरु गर्न कम्तीमा चार पाँच लाख रुपैयाँ चाहिन्छ, हामी चन्दा सहयोग जुटाउने प्रयास गरिरहेका छौँ”, वडाध्यक्ष भण्डारीले भन्नुभयो, “जायजेथा केही नभएकाले उहाँको परिवारले खर्च जुटाउन सक्ने कुनै सम्भावना छैन ।”
ताजपुरिया परिवार निर्धन लघुवित्त वित्तीय संस्थाको सदस्य रहेको छ । आफ्ना सदस्यको स्वास्थ्योपचार गर्ने हैसियत नभएको देखेर निर्धन लघुवित्तले रु १० हजार आर्थिक सहयोग प्रदान गरेको छ ।