काठमाडौं, वैशाख २० : नेपाल नर्सिङ संघकी अध्यक्ष मनकुमारी राईले फ्रन्टलाइनमा खटिने नर्सहरुको सेवा सुविधा बढाउने निर्देशिका बनाइनु पर्ने बताएकी छन् ।
उनले सरकारले व्यवस्था गरे पनि निर्देशिका बनाएमा अझै उच्च मनोबलका साथ स्वास्थ्यकर्मीहरुले खटिने बताइन् ।
नर्सहरु घर गृहस्थी तथा फ्रन्टलाइनमा पनि खटिनुपर्ने भएकाले सेवा सुविधा बढाउने कुरामा ध्यान दिनुपर्ने र शंका लागेको खण्डमा स्वास्थ्य जाँचको व्यवस्था गर्नुपर्ने आग्रह गरिन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार नियमित मिडिया ब्रिफिङका क्रममा बोल्दै अध्यक्ष राईले कोरोना महामारीको उपचारमा संलग्न हुने नर्सहरुले चुनौतीमात्र नभइ अवसरको रुपमा लिएको बताइन् ।
उनले भावी योजनाको रुपमा नर्सिङ तथा स्वास्थ्य शिक्षा प्रयोगात्मक रुपमा लानुपर्ने कुरा कोरोना कहरले सिकाएको बताइन् ।