काठमाडौं, वैशाख २० : बंगलादेशमा कार्गो उडान गर्ने हेलो एयरलायन्सले एक जना नेपाली प्रशिक्षक पाइलटलाई लैजान शुक्रबार बुद्ध एयरको जहाज चार्टर गरेको छ । भारतको एक घरेलु वायुसेवा कम्पनीमा एटीआर विमान उडाउँदै आएका ती नेपाली पाइलट लकडाउन घोषणाको अघिल्लो दिन (चैत १० गते) मात्रै घर (काठमाडौं) फर्केका थिए ।
कोरोना महामारीका कारण कतै पनि इन्स्ट्रक्टर पाइलट–आईपी (प्रशिक्षक पाइलट) नभेटेपछि काठमाडौंमा बिदामा रहेका ती पाइलटलाई बंगलादेशको हेलो एयरलायन्सले केही साताका लागि उसको कार्गो जहाज उडाइदिन काठमाडौंबाट बुद्ध एयरको जहाज चार्टर गरेर लगेको उक्त एयरलायन्सका एक उच्च अधिकारीले कान्तिपुरसँग बताए ।
ती अधिकारीका अनुसार, बंगलादेशमा अहिले अरबौं रुपैया बराबरको झिँगे माछा, प्राउनका भुराको व्यापार हुने मुख्य सिजन हो । ‘अहिले भुरा बिक्रीको सिजन भएको र कार्गो जहाजको आम्दानी गर्ने मुख्य सिजन नै आइपरेकाले हेलो एयरलायन्सले काठमाडौंबाट १७ हजार डलरमा जहाज चार्टर गरेर प्रशिक्षक पाइलट नेपालबाट लिनुपरेको हो,’ नाम सार्वजनिक गर्न नचाहने ती अधिकारीले भने ।
नेपालबाट लगिएका ती पाइलटले बंगलादेशको कोक्सबजारबाट जेस्सरबजारसम्म हलो एयरको एटीआर–४२ विमानबाट झिँगे माछाका भुरा ओसार्नुपर्ने छ ।
ढाका विमानस्थल हब भएको हलोले यसपटक समुन्द्रसँग नजिक रहेका क्षेत्रीय सहरमा उत्पादन हुने प्राउन र माछाका भुरा ठूला उद्योग रहेका सहरका क्षेत्रीय विमानस्थलसम्म चार्टर उडानबाट ओसार्ने छ । यही उडानका क्रममा ती नेपाली पाइलटले उसका क्याप्टेन तथा को–पाइलटलाई ‘क्लियर’ गर्दै जाने छन् ।
‘यता केही साताका लागि आएको हुँ,’ नाम उल्लेख गर्न नचाहने ती नेपाली पाइलटले भने, ‘यताको कम्पनीका पाइलटलाई इन्स्ट्रक्टर पाइलटसँग उडाउँदै चेक गर्ने र क्लियर गरेर भारतको कोलकाता हँुदै फर्किने योजनामा छु ।’
नागरिक उडानमा क्याप्टेन तथा को–पाइलटले निश्चित समयमा प्रशिक्षक पाइलटबाट क्लियर हुनै पर्ने अन्तर्राष्ट्रिय नियम हुन्छ ।
यसैबीच हेलोले चार्टर गरेको उडानमै शुक्रबार अन्य १५ जना बंगालादेशी नागरिक पनि ढाका फर्केका थिए भने उताबाट काठमाडौंमा रहेको बंगलादेश दूतावासका २ जना कर्मचारी काठमाडौं फर्केका थिए ।
लकडाउनका कारण मानवीय सहायता, औषधि कार्गो, कूटनैतिक उडानमात्रै हुने भएकाले हलोले नेपाली प्रशिक्षक पाइलट लैजान काठमाडौंमा रहेको दूतावासको सहकार्यमा बुद्धको एटीआर विमान चार्टरका लागि अनुमति पाएको थियो । अन्य बंगलादेशीलाई हेलोको चार्टर खर्चमा सित्तैमा उडाइएको थियो ।