कस्तूरी मृग मारेको आरोपमा ७ जना पक्राउ

  बैशाख २०, २०७७

काठमाडौं, वैशाख २० : सगरमाथा राष्ट्रिय निकुञ्जको क्याङ्जुमा नजिकको ताक्डिमामा पासोमा पारेर कस्तूरी मृग मारेको आरोपमा ७ जनालाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । स्थानीय युवा क्लब र मध्यवर्ती क्षेत्रका उपभोक्ताले पाङ्बोचे र फोर्चेबाट शुक्रबार नियन्त्रणमा लिएका ७ जनालाई नाम्चे ल्याइएको छ ।

निकुञ्जको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष सोनाम ग्याल्जेन शेर्पाका अनुसार उनीहरुको संलग्नता देखिएपछि स्थानीय नागरिकले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् । लुकेर बसेका उनीहरुलाई स्थानीयले छापा मारेर नियन्त्रणमा लिएका थिए ।

कस्तूरी मृगको केन्द्र मानिने सगरमाथा निकुञ्जको सगरमाथा बेसक्याम्प जाने बाटोको ताक्डिमामा धेरै समयपछि त्यति धेरै संख्यामा कस्तूरी मारिएका थिए । नाम्चेस्थित् प्रहरीमा राखिएका आरोपितलाई केही बेरमा निकुञ्जको जिम्मा लगाइँदैछ ।

स्रोतका अनुसार निकुञ्जका प्रमुख भूमिराज उपाध्यायलाई पनि प्रहरीसमक्ष राखेर बयान लिने काम भइरहेको छ । तस्करहरुबारे जानकार पाएर पनि उनले पक्राउ नगरेको स्थानीयले आरोप लगाएका छन् ।उपाध्याय यसअघि सूदूरपश्चिमको अपिनाम्पा संरक्षण क्षेत्रमा प्रमुख हुँदा पनि विवादमा परेका थिए । अनैतिक गतिविधिमा संलग्न भएको आरोपपछि उनलाई निकुञ्ज विभागले कारबाही गर्दै फिर्ता बोलाएको थियो । ‘निकुञ्जको अहिलेको टिम नै विवादित छ,’ स्रोतले भन्यो ।

यता राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले कस्तूरी मारिएकोबारे अनुसन्धान गर्न उपसचिव वेदकुमार ढकालको संयोजकत्वमा नुरेन्द्र अर्यालसहितको कार्यदल बनाएको छ । विभागका सूचना अधिकारी विष्णुप्रसाद श्रेष्ठले उक्त घटनाबारे विस्तृत अध्ययन गरी प्रतिवेदन बुझाउन ढकाललाई जिम्मेवारी दिइएको बताए ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ मा कस्तुरी मार्नेलाई ५ देखि १० लाख रुपैयाँ जरिवाना वा ५ देखि १५ वर्षसम्मको कैद वा दुवै सजाय हुने व्यवस्था छ । कस्तूरी ऐनको संरक्षित वन्यजन्तुको सूचीमा पर्छ । वैशाख १४ गते मालिङ्गो लिन गएका स्थानीयले पासोमा पारेर कस्तूरी मारिएको देखेपछि निकुञ्ज र सुरक्षा निकायलाई जानकारी गराएका थिए ।

तपाईको प्रतिक्रिया