जाजरकोटमा अनुदानको नुन प्रतिकिलो ६० रुपैयाँमा बिक्री

  बैशाख २०, २०७७

हेमन्त केसी
जाजरकोट, वैशाख २०

जिल्ला सदरमुकामबाट झण्डै ७२ किलोमिटर उत्तरपूर्वमा रहेको बारेकोट गाउँपालिकामा अनुदानमा पाइने नुन उच्च मूल्यमा बिक्री हुने गरेको पाइएको छ ।

जाजरकोट सदरमुकाममा ९ रुपैयाँमा बिक्री हुने आयोडिनयुकत नुन बारेकोट गाउँपालिकामा भने प्रतिकिलो ६० रुपैयाँमा बिक्री भइरहेको छ । गाउँपालिकाको मुकाममा सडक पुगे पनि लकडाउनका कारण गाडी चलेकोले खच्चडले ढुवानी गरेर लुकिछिपी महँगोमा बिक्री गरिएको हो ।

बारेकोट गाउँपालिकाले सदरमुकामस्थित साल्ट ट्रेडिङ कम्पनी लिमिटेडको डिपोबाट २०० क्विन्टलभन्दा बढी नुन खरिदका लागि चिठी पठाए पनि मुस्किलले १०० क्विन्टल मात्र पाएको छ ।

स्थानीय सरकारले भनेजति नुन खरिद गर्न खोजे पनि साल्ट ट्रेडिङ कम्पनी जाजरकोटले स्थानीय सरकारलाई मागअनुसारको नुन उपलब्ध नगराएपछि स्थानीय महँगोमा नुन किन्न बाध्य भएका हुन् ।

जाजरकोटमा आयोडिनयुक्त नुन सहुलियत दरमा वितरण गर्न सरकारले ढुवानी अनुदान दिँदै आएको छ । ढुवानी अनुदानका कारण नुन सदरमुकाम र डिपोमा प्रतिकेजी ९ रुपैयाँमा पाइन्छ । व्यापारीले अनुदानकै नुन मिलेमतोमा खरिद गरेर दुर्गममा चर्को मूल्यमा बिक्री गर्ने गरेका छन् ।

लकडाउनका कारण गाडी चल्दैनन्, प्रहरीका आँखा छल्दै आधा बाटोसम्म ट्र्याक्टरमा र त्यसपछि घोडा तथा खच्चडमा ल्याएको नुन व्यापारीले मनोमानीरूपमा बिक्री गर्दा पनि स्थानीय प्रशासन मुकदर्शक बनिरहेको छ ।

दुर्गममा प्रशासनले कहिल्यै अनुगमन नगर्दा व्यापारीले मनोमानी गर्ने गरेको स्थानीयवासीको गुनासो छ । बारेकोटमा व्यापारीले निजी लगानीमा खरिद गरेर लगेको ढुवानी अनुदानको नुन बारेकोटको तल्लो भेगमा ५० र माथिल्लो भेगतिर ६० मा बिक्री गर्ने गरिएको बारेकोट गाउँपालिकाले समेत स्वीकार गरेको छ ।

सदरमुकाममा नौ रुपैयाँमा एक पोका पाइने नुन बारेकोटमा सात गुणा बढी मूल्यमा किन्नुपर्ने बाध्यता रहेको बारेकोट-५ पाखाका प्रेम शाहीले बताए । नुनको समस्या वर्षेनी हुने बारेकोटमा गत वर्ष सरकारसँग डिपो स्थापनाका लागि माग गर्दा पनि सुनुवाइ नभएको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए ।

प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले साल्ट ट्रेडिङको सदरमुकामस्थित गोदाम र नलगाड डिपोमा नुनको अभाव नभएको बताए । केही समयअघि छेडागाड नगरपालिकाको दशेरामा समेत चर्को मूल्यमा नुन बिक्री गरेको फेला परेको थियो । रासस

तपाईको प्रतिक्रिया