कोरोना सङ्क्रमण फैलिनु अगाडि धौलागिरि आयुर्वेद औषधालयमा बिरामीको सङ्ख्या निकै कम थियो । जब विश्वभर महामारीका रुपमा कोरोना सङ्क्रमण फैलियो, तब औषधालयमा बिरामीको चाप बढ्दै गयो । पछिल्लो समय जिल्ला सदरमुकाम बागलुङ बजारमा रहेको आयुर्वेद औषधालयमा आएर जाँच र औषधि लिने बढेको आयुर्वेदालयले जनाएको छ ।
औषधालयबाट सबैभन्दा बढी दीर्घरोगी र ज्येष्ठ नागरिकले सेवा लिने गरेको सूचना अधिकारी एकराज ढुङ्गानाले बताउनुभयो । विशेष गरी ग्यास्ट्रिक, पेट दुख्ने, खान नरुच्ने, बाथलगायतका समस्या भएका बिरामी आयुर्वेद यहाँ आउने गरेको ढुङ्गानाको भनाइ छ । आयुर्वेद औषधिमा विश्वास कम गर्ने पनि लामो समय नियमित आयुर्वेदिक औषधि खाएर शरीरमा फाइदा पुगेको भन्दै आकर्षित भएको उहाँ बताउनुहुन्छ ।
उहाँका अनुसार आयुर्वेद औषधालयमा सेवा लिन आउनेमध्ये अधिकांश बिरामी पेटसम्बन्धी समस्या लिएर आउने गरेका छन् । सूचना अधिकारी ढुङ्गाना भन्नुहुन्छ, “पहिलेको तुलनामा पछिल्लो समय औषधालयमा आउने बिरामीको सङ्ख्या निकै बढेको छ, आयुर्वेदिक औषधिप्रति नागरिकको विश्वास बढेकै कारण यहाँ आउनेको सङ्ख्या बढेको पाइन्छ, आउने बिरामीलाई आयुर्वेदबारे परामर्श र उपयोगिताबारे जानकारी दिने गरेका छौँ ।”
धौलागिरि आयुर्वेदिक अस्तालमा आउने बिरामीको तीन वर्षे तथ्याङ्क हेर्दा सबैभन्दा बढी कोभिड–१९ पछि आउने गरेको पाइएको छ । आर्थिक वर्ष २०७६÷७७ मा सात हजार एक सय ५४ जना बिरामीले सेवा लिएका छन् भने २०७७÷०७८ मा त्यो सङ्ख्या बढेर १२ हजार पाँच सय ८३ पुगेको छ । अघिल्लो आर्थिक वर्ष २०७८÷०७९ मा भने सेवा लिनेको सङ्ख्या बढेर १६ हजार दुई सय ४७ जना पुगेको छ ।
चालु आर्थिक वर्षको हालसम्म सात हजार चार सय ३० जना बिरामीले सेवा लिएका छन् । यस वर्ष सबैभन्दा बढी साउन महिनामा एक हजार तीन सय २० जना बिरामीले सेवा लिएका छन् । भदौमा एक हजार ३६ जना, असोजमा नौ ६१ जना, कार्तिकमा आठ यी ५१ जना, मङ्सिरमा आठ सय ८३ जना, पुसमा एक हजार १० जना, माघमा एक हजार आठ र फागुन दोस्रो सातासम्म तीन सय ६० जनाले सेवा लिएको औषधालयले जनाएको छ ।