कृषि सहकारीको समस्या समाधान गर्न अध्ययन

  फागुन १४, २०७९

कृषि क्षेत्रका विज्ञहरूले कृषि सहकारीलाई उद्देश्यअनुरूप सञ्चालनका लागि प्रेरित गर्नुपर्ने बताएका छन् ।

राष्ट्रिय किसान आयोगद्वारा कीर्तिपुरमा आयोजित कृषिका विविध अध्ययनसम्बन्धी प्रारम्भिक गोष्ठीको तेस्रो दिन शुक्रबार आफ्नो मन्तव्य राख्ने क्रममा विज्ञहरूले यस्तो सुझाव दिएका हुन् । आयोगले देशको कृषि क्षेत्रमा सर्वाधिक चासो राखिने आठ विभिन्न विषयमा विज्ञ संस्थाबाट अध्ययन गराउन थालेको हो । गोष्ठीको अन्तिम दिन आज कृषि सहकारीको समस्या र भूमिहीन किसानको समस्यासम्बन्धी गरी दुई विषयमा प्रारम्भिक छलफल भएको थियो ।

आयोगका लागि प्रिज्म कन्सन्लटेन्सी प्रालिले ‘कृषि सहकारी सञ्चालनमा देखिएका समस्याको पहिचान गरी समाधानका उपायहरू’ बारे विस्तृत अध्ययन गर्दैछ । अध्ययन टोलीका नेता सुमन शेखर मानन्धरका अनुसार सहकारीका सात प्रमुख सिद्धान्तअनुरूप कृषि सहकारी सञ्चालन भए नभएको हेर्नु अध्ययनको मूल उद्देश्य हुनेछ । स्वैच्छिक र खुला सदस्यता, प्रजातान्त्रिक सदस्य नियन्त्रण, सदस्यको आर्थिक सहभागिता, स्वायत्तता र स्वतन्त्रता, शिक्षा प्रशिक्षण र सूचना, सहकारीबीच सहकारिता र समुदायका लागि चिन्ता जस्ता सहकारीका आधारभूत मान्यता हुन् । समस्यामा परेका सहकारीले यिनै मान्यतालाई छोडेको उहाँले दिनुभयो ।

“कृषि सहकारीबाट किसानले सेवा सुविधा प्राप्त गर्न नसकेको जनगुनासो बारम्बार प्राप्त भइरहेकाले त्यहाँ देखिएका समस्या पहिचान गरी समाधानका उपायबारे विश्लेषणात्मक सुझाव दिन यो अध्यनन गरिन लागेको हो”, मानन्धरले भन्नुभयो । यसैगरी भूमिहिन किसानको जीविकोपार्जन सुधारका लागि उपयुक्त कृषि विकास कार्यक्रमका बारेमा गरिने अध्ययनले किसानको जीवनस्तरमा सुधार ल्याउन उपयुक्त कृषि कार्यक्रमबारे सुझाउने जानकारी पनि कार्यक्रममा दिइयो ।

तपाईको प्रतिक्रिया