काठमाडौँ, फागुन ९ : उमेरले बुढ्यौली चढेका नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति किरण मानन्धर युवा जोशका साथ आज क्यान्भास बोकेर सिर्जना गर्न तम्सिनुभयो ।
उहाँले एक्रेलिक रङमा कुची चोप्नुभएन हातका चार औँलाले बट्टाको रङ उधिनेर सीधै क्यान्भासमा पोत्नुभयो । केही सेकेण्डको अन्तरालमै सांस्कृतिक पहिचान दिने गरी सिर्जना बनाउनुभयो ।
त्यसमा उहाँले रञ्जना लिपी र ध्वाजा पताका टाँसेर सुन्दरता छर्नुभयो । वसुन्धरामा रहेको नेपालस्थित बङ्गलादेशी राजदूतावारमा उहाँका सिर्जना हेर्न उभिएका दर्शक चित्रकलाको शैली हेरेर दङ्ग परे ।
नेपाली र बङ्गलादेशी नागरिकसामु आम नेपालीले पनि नबुझ्ने रञ्जना लिपी र क्यान्भासमा पोतिएका रङबाट निर्मित सिर्जनाको भाषा उपस्थित नागरिकले सजिलै बुझे । “सिर्जना कुनै देशको हुन्न, भाषाको हुन्न, यो सीमाविहीन हुन्छ”, कलाकार मानन्धरले भन्नुभयो ।
त्यसैले सिर्जनामा कुनै खास भाषा हुँदैन । त्यति भनिरहँदा सिर्जनामा त्यस्तो भाषा हुन्छ, जुन भाषा देशअनुसारको फरकरुपमा सजिएको पनि हुन्छ । नेपालीले कोर्ने सिर्जनामा नेपालीपन हुन्छ भने बङ्गलादेशी कलाकारले कोर्ने सिर्जनामा त्यही देशको रहनसहनका छनक पाइन्छ । मानन्धर थप्नुहुन्छ, “तर सिर्जनालाई बुझ्ने भाषा भने एउटै हुन्छ ।”
उहाँले अहिले विश्वमा कला धेरै परिवर्तित भएकाले यसपाली आफूले पनि फरकरुपमा क्यान्भास रङ्ग्याएको बताउनुभयो । आज अन्तर्राष्ट्रिय मातृभाषा दिवससमेत परेकाले आफ्नो संस्कार र संस्कृतिलाई मौलिकतासँग जोडेर आधुनिकता दिने प्रयास गरिएको पनि उहाँले बताउनुभयो ।
क्यान्भासमा उहाँले आज सिर्जना गरेको चित्रमा समाहित भएको ध्वजापतका, रञ्जना लिपीका पाना र पोतिएका रङले नेपाली मातृभाषालाई सहज र सरलरुपमा उधिनेको पाइन्छ ।
मानन्धर भन्नुहुन्छ, “बङ्गलादेश भाषाले नै बनेको हो, नेपाल त झन पुरानो देश हो, हाम्रो भाषा समृद्ध छ, तर राम्ररी प्रचार तथा विकास गर्न सकिएको छैन ।”
त्यसो त विश्वकै पुरानो मानिने पूर्वीय दर्शन अध्ययन गर्न विश्वका विकसित मुलुकका नागरिक आकर्षित हुनुले पनि त्यो स्पष्ट पार्छ । मानन्धर फेसनमा नेपाली अघि बढिरहेको तर विकासमा नसकेको दाबी गर्नुहुन्छ ।
त्यसैले कार्यक्रममा उपस्थित कलाकारले पनि सिकोस् भनेर मौलिकतालाई आधुनिक दृष्टिकोणबाट प्रस्तुत गर्दै आफूले चित्र सिर्जना गरेको उहाँले सुनाउनुभयो । जहाँ संस्कृति हुन्छ, त्यहाँ कला हुन्छ भन्ने भाव बोक्ने मानन्धर नेपाल संस्कृतिको धनी देश हो भन्नुहुन्छ ।
अर्का कलाकार उत्तम डङ्गोलले नेपाल र बङ्गलादेशको प्रगाढ सम्बन्धलाई सिर्जनामा ढाल्नुभयो । उहाँले नेपाली टोली र बङ्गदालेशको राजधानी ढाकाको सम्बन्धबारे रङले क्यान्भास रङ्ग्याउनुभयो ।
उहाँले सिर्जनामा बङ्गलादेशको समुद्र र रञ्जना लिपीको ओम शब्दलाई फ्यूजन गरेर मोसनमा कुची चलाउनुभयो । कलाकार श्यामसुन्दर यादवले नेपालमा बसेर बङ्गलादेशको अनुभूति लिँदै मोर्डन मिथिलाकलालाई उतारेको सुनाउनुभयो ।
अर्का मुहार चित्रका अब्बल कलाकार एनवी गुरुङले रङ्गीन सन्सारलाई विषय बनाएर विश्व भाषाको सुन्दरतालाई क्यान्भासमा सजाउनुभयो । “फूलबारीमा एउटा मात्र फूलले सुन्दरता दिन्न, रङ्गीचङ्गी फूलको शोभा अर्को हुन्छ, त्यस्तै आफ्नो सिर्जनाले रङ्गिन सन्सारलाई देखाउने प्रयास गरेको हुँ”, गुरुङले भन्नुभयो ।
विगतमा पनि अन्तर्राष्ट्रिय भाषा दिवसका अवसरमा बङ्गलादेशी दूतावासले विभिन्न सांस्कृतिक कार्यक्रम गरिरहेको हुन्थ्यो । त्यो देखेर नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका यसअघिका प्राज्ञ तथा अग्रज कलाकार सुष्मा राजभण्डारी यसपालि कला क्याम्प गरौँ भनेर प्रस्ताव गर्दा दूतावासले सहजै स्वीकार गरेकाले उक्त कार्यक्रम आज गरिएको बताउनुभयो ।
यसरी यहाँ ४० जना नेपाली कलाकारले आफ्ना सिर्जना क्यान्भासमा पोतेका छन् । केही दिनपछि भव्य कार्यक्रमका बीच प्रदर्शनी गर्ने तयारी पनि रहेको जनाइन्छ । बनेका चित्रमध्ये १२ वटा दूतावासले नै खरिद गर्नेछ ।
‘लभ फर ल्याङ्ग्वेज एण्ड कल्चर’ भन्ने नाराका साथ भएको आर्ट क्याम्समा मानन्धरसहित अग्रज कलाकार प्रतिष्ठानका पूर्वकुलपति विजय थापा तथा कलाकार गौतमरत्न तुलाधर, गोविन्द डङ्गोल, उत्तम डङ्गोल, एनवी गुरुङ, ज्योति प्रकाश, डिवी राईलगायतले क्यान्भासमा सिर्जना बनाउनुभएको थियो ।
त्यसको सुरुआत नेपालका लागि बङ्गलादेशी राजदूत सलाहुद्दिन नोमन चौधरी र ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वकूलपति किरण मानन्धरले क्यान्भासमा आआफ्ना मातृभाषा कोरेर गर्नुभएको थियो ।
आफ्नो मुलुकको इतिहासबारे जानकारी गराउने र भाषाको महत्त्वलाई उजागर गर्न उक्त मातृभाषा दिवस संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक र सांस्कृतिक सङ्गठन (युनेस्को) द्वारा सन् १९९९ मा बङ्गालीले बङ्गलालाई आफ्नो राज्य भाषाका रूपमा स्थापित गर्न गरेको बलिदानको मान्यतामा चयन गरिएको बताइन्छ । कलाकारले आज साँझसम्मै लगाएर क्यानभासमा सिर्जना उतार्नुभएको थियो ।