बैतडी,फागुन ६ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निर्वाचनका बेला गरिएका बाचा पूरा गर्ने र उद्योग वाणिज्यको क्षेत्रमा बजेटको कमी हुन नदिने बताउनुभएको छ ।
मन्त्री भएपछि आज गृहजिल्ला आउनु भएका उहाँले भन्नुभयो, “यहाँहरूले दिएको मतको उच्च कदर गर्दै बैतडी र समग्र सुदूरपश्चिमको विकासका लागि सधैँ अग्रसर छु, म जति दिन मन्त्री पदमा रहन्छु, यहाँको विकासका लागि बजेटको कमी हुन दिने छैन ।”
मन्त्री भण्डारीलाई आइतबार उद्योग वाणिज्य सङ्घ र निर्माण व्यवसायी, निजामती कर्मचारी सङ्गठन, एमाले जिल्ला कमिटीले स्वागत गर्ने कार्यक्रम रहेको उहाँका स्वकीय सचिव लोकेन्द्र भण्डारीले जानकारी दिनुभयो ।