भक्तपुर, फागुन ५ : विसं २०४६ को जनआन्दोलनका अमर सहिदहरूको स्मृतिमा भक्तपुर नगरपालिकाद्वारा आजबाट आयोजित अन्तरनगर पुरुष खोखो प्रतियोगिताको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले उद्घाटन गर्नुभयो ।
भक्तपुरको सहिद स्मृति खेलमैदानमा भएको कार्यक्रममा अध्यक्ष बिजुक्छेँले हराउँदै गएको खोखो खेलको संरक्षण गर्ने उद्देश्यले भक्तपुर नगरपालिकाले आयोजना गर्नु सकारात्मक रहेको भन्दै खेललाई मर्यादित बनाउनुपर्ने बताउनुभयो ।
प्रतियोगिताले राष्ट्रिय र अन्तर्राष्ट्रिय खोखो खेलाडी उत्पादनमा टेवा पुग्ने उहाँको भनाइ थियो । भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले प्रजातन्त्र पुनःस्थापनाका लागि आफ्नो ज्यानको आहुति दिएका सहिदहरूको बलिदानको स्मरण गर्दै भक्तपुर नपाले प्रत्येक वर्ष अन्तरनगर खेलकुद प्रतियोगिता आयोजना गर्दै आएको छ भन्नुभयो ।
बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाइ, भक्तपुरका प्रजिअ खगेन्द्रप्रसाद रिजाल, नेपाल खोखो सङ्घका कार्यवाहक अध्यक्ष प्रदीप महर्जन, भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, भनपा वडा नं ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वलगायतले सबै स्थानीय तह खेलकुदको विकासमा लाग्न सके देशले राम्रा खेलाडी उत्पादन गर्न सक्ने बताउनुभयो ।
युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले अन्तरनगर पुरुष खोखो प्रतियोगितामा देशभरका सात सय ५३ वटा पालिकालाई आमन्त्रण गरे पनि विभिन्न जिल्लाबाट १३ वटा नगरपालिकाको सहभागिता रहेको बताउनुभयो ।
उहाँले प्रतियोगितामा प्रथम हुने टिमलाई रु एक लाख ५० हजार, दोस्रालाई रु एक लाख र तेस्रोलाई रु ५० हजार पुरस्कारको व्यवस्था गर्नुका साथै खेलमा सहभागी नगरपालिकालाई नगद रु पाँच हजार दिने जानकारी गराउनुभयो । यही फागुन ९ गते प्रतियोगिता सकिनेछ ।