साहित्यकार हृदयचन्द्रसिंह प्रधानको उपन्यास एक चिहानमा आधारित नाटक ‘एक चिहान’ नवलपुरको कावासोतीमा मञ्चन हुने भएको छ । पोखरा थिएटरको सहकार्यमा नवलपुरमा रहेको ह्याप्पी एफले नाटक मञ्चनको आयोजना गरेको हो ।
परिवर्तनको निर्देशन रहेको नाटकमा यही फागुन १६ गतेदेखि तीन दिनसम्म चल्ने तथा दैनिक तीन शो प्रदर्शन गरिने कार्यक्रम संयोजक एवं ह्याप्पी एफका स्टेशन म्यानेजर आदर्श सुशीलले बताउनुभयो । चौध कलाकारको प्रस्तुति रहने नाटक एक घण्टा ४५ मिनेट लामो रहने नाटकका निर्देशक परिवर्तनले जानकारी दिनुभयो ।
नेपाली गरिब किसान र मजदुरको जीवनमा आधारित नाटक एक चिहान सामाजिक यथार्थवादी नाटक रहेको र यसले विसं २०११ आसापासको नेपाली समाजमा रहेको निम्न वर्गीय जीवनका जटिलता र सङ्र्घषलाई चित्रण गर्ने निर्देशक परिवर्तनले बताउनुभयो । उहाँका अनुसार नाटकमा विशेष गरी नेवारी समुदायको पारिवारिक परिवेश देखाइएको छ ।
नाटकमा प्रजातन्त्र प्राप्तिपछि विस्तारै मौलाउँदै गएको प्रगतिशील सोचको परिवेश, सांस्कृतिक समिश्रण, समावेशी र समानताका लागि आवश्यक परेको तथ्य रुढिवादी तथा अन्धविश्वासले नेपाली समाजलाई नछाडेको वास्तविकता नाटकभित्र अनुकूल घटनाक्रम र स्वभाविक पात्रको परिवेश देखाउन खोजिएको छ ।
एक चिहान विद्यालय तहको पाठ्यक्रममा समेत समावेश गरिएको उपन्यास भएकाले उपन्यासको नाट्य रुपान्तरणले विशेष गरेर विद्यार्थी लाभान्वित हुने उहाँको भनाइ छ । साहित्यकार हृदयचन्द्रसिंह प्रधान ९विसं १९७२–२०१६० नेपाली साहित्यका उपन्यास, नाटक, निबन्ध, समालोचन कथा ब्याकरणजस्ता वाङमयका विविध क्षेत्रमा कलम चलाउने बहुमुखी व्यक्तित्व हुनुहुन्थ्यो ।