नामिबियाले नेपाललाई जितको लागि २८६ रनको चुनौती दियो

  फागुन ०२, २०७९

आइसिसी विश्वकप क्रिकेट लिग–दुईको त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत घरेलु मैदानमा आज भएको पहिलो खेलमा नामिबियाले नेपाललाई जितको लागि २८६ रनको चुनौती दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २८५ रनको योगफल बनायो । नामिबियाका लागि माइकल भ्यान लिङ्गेनले सानदार शतक प्रहार गरे । १३७ बल खेल्दै उनले पाँच छक्का र नौ चौकाको मद्दतमा १३३ रनको योगदान दिए । त्यसैगरी नामिबियाका कप्तान गेर्हार्ड इरास्मसले ५६ जोडे । जेन ग्रिनले ३४ रन बनाए भने जान फ्रिलिङ्कले १३ रन जोडे । बलिङतर्फ नेपालका लागि करण केसी एक्लैले ५ विकेट लिए भने सन्दिप लामिछानेले तीन विकेट झारे ।

कुशल मल्ल र सोमपाल कामीले समान १÷१ विकेट लिए । उक्त सिरिजमा नेपाल २४ खेलमा १८ अङ्क जोडेर अङ्कतालिकाको छैटौँ स्थानमा रहेको छ भने नामिबिया ३० खेलमा ३७ अङ्क जोडेर अङ्कतालिकाको तेस्रो स्थानमा रहेको छ । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

तपाईको प्रतिक्रिया