कोरोना भाइरसविरुद्ध लड्न भारत पाकिस्तान च्यारिटी खेलको आग्रह

  बैशाख १६, २०७७

पाकिस्तान, वैशाख १६ : पाकिस्तानी क्रिकेटर सोएब अख्तर र साहिद अफ्रिदीले कोरोना भाइरसविरुद्ध लड्न भारत पाकिस्तान च्यारिटी खेलको आग्रह गरेका थिए । उनीहरूले दुवै देशबीच तीन खेलको एकदिवीसय च्यारिटी सिरिज गर्न आग्रह गरेका थिए । उक्त आग्रहले दुवै देशका क्रिकेटरबीच निकै चर्चा पाएको छ ।

यही क्रममाः पाकिस्तानी पूर्वदिग्गज स्पिनर क्रिकेटर सकलैन मुस्ताकले पनि यो सिरिज हुनुपर्ने बताएका छन् । उनले भने, “तपाईं खेलाडीलाई नायक सम्झनुहुन्छ । नायकको काम राम्रो गर्नु हो । जित र हार खेलको नियम हो । यो युद्ध होइन । क्रिकेटलाई युद्ध नबनाऔं ।”

उनले भारत र पाकिस्तानले क्रिकेट खेल्नुपर्ने बताएका छन् । उनले समर्थकले दुवै देशको झन्डा हातमा लिएको देख्न चाहेको बताए । “म सबै समर्थकले प्यारापिटमा दुवै देशको झन्डा समातेको हेर्न चाहन्छु । यो खेलको ताकत हो,” पाकिस्तानी पूर्वक्रिकेटर मुस्ताकले भने, “सचिन तेन्दुलकर र सेन वार्नले अमेरिकामा (२०१५) अल स्टार्स खेलको आयोजना गरेका थिए । तपाईंलाई विश्वास छैन होला कि मैले समर्थकलाई भारत र पाकिस्तानको झन्डा समातेको देखेको थिएँ ।”

मुस्ताकले यस सिरिजले दुवै देशको सम्बन्धलाई सुधार गर्नसमेत मद्दत गर्ने जनाएका छन् । “यस सिरिजले दुवै देशको सम्बन्धलाई समधुर गर्न मद्दत गर्नेछ । म आईसीसीका सबै पदाधिकारीलाई यस विषयमा विचार गर्न अनुोध गर्छु । यो बीसीसीआई र पीसीबीका लागि पनि फाइदाजनक हुनेछ,” मुस्ताकले भने ।

तपाईको प्रतिक्रिया