दुई वर्षपछि अन्तर माध्यमिक खेलकुद प्रतियोगिता

  माघ २८, २०७९

कोरोना महामारीका कारण दुई वर्षदेखि हुन नसकेका अन्तर माध्यमिक विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु भएका छन् ।

खेलाडी उत्पादनको जग मानिने विद्यालयस्तरीय खेलकुद प्रतियोगिता कोरोनाका कारण प्रभावित भएका थिए । कञ्चनपुरका नौवटै पालिकामा १३औँ राष्ट्रिपति रनिङ सिल्डअन्तर्गत पालिकास्तरीय अन्तर माध्यमिक प्रतियोगिता सञ्चालन भएका छन् । अहिले जिल्लाका नौ पालिकामा भलिबल, एथलेटिक्स, कबडी, तेक्वान्दो, लामो तथा छोटो दौडलगायतका खेलकुद प्रतियोगिता सञ्चालन भइरहेका छन् ।

“कोरोनाका कारण दुई वर्ष विद्यार्थीले खेल्न पाएनन्, अहिले विद्यार्थी खेलाडीको उत्लासपूर्ण सहभागिता छ”, शिक्षक हरि चन्दले भन्नुभयो, “खेलाडी उत्पादनको थलो नै यस्ता प्रतियोगिता भएकाले अन्तर माध्यमिक प्रतियोगिता निरन्तर हुनु पर्दछ ।” उहाँले वर्षमा एक पटक मात्रै खेलकुद प्रतियोगिता हुन नहुने गरेको बताउनुभयो ।

“नारा नै राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद छ त्यसैले राज्यले पनि खेलाडीको विकास र भविष्यमा ध्यान दिन जरुरी छ”, उहाँले भन्नुभयो, “वर्षमा एक पटक खेलाडी खोजेर हुँदैन यस्ता प्रतियोगिता बेलाबेला आयोजना भइराख्नुपर्छ ।” दुई वर्षपछि भएका प्रतियोगितामा खेलाडीको उत्साहपूर्ण सहभागिता रहेको उहाँको भनाइ छ ।

त्यसैगरी जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहराले खेलाडीको विकासका लागि विद्यालयस्तरीय खेलकुद प्रतियोगिता भएराख्नुपर्ने बताउनुभयो । “खेलकुद स्वास्थ्य र अनुशासनका लागि महत्वपूर्ण छ, विश्वमा देशलाई चिनाउन खेलाडी उत्पादन हुने जग भनेकै विद्यालय हो”, उहाँले भन्नुभयो, “खेलकुद प्रतियोगिताले खेलाडीलाई अब्बल बनाउन सहयोग पुग्छ ।”

तपाईको प्रतिक्रिया