अखिल नेपाल किसान महासङ्घले तत्काल स्वदेशी कृषि वस्तुको उचित मूल्य निर्धारण गरी बजारको सुनिश्चितता गर्न माग गरेको छ । महासङ्घले शुक्रबार यहाँ आयोजना गरेको पत्रकारसँगको छलफलमा महासङ्घका अध्यक्ष बलराम बास्कोटाले उत्पादनको समुचित बजार र मूल्य नपाउँदा किसान ऋणमा डुब्दै जाने र विचौलिया तथा व्यापारी मोटाउने अवस्था रहेको बताउँदै खाद्य सम्प्रभुताको कार्यान्वयनमार्फत कृषि पेसालाई मर्यादित, आय र रोजगारीमूलक बनाउन सरकार संवेदनशील हुनुपर्ने बताउनुुभयो ।
कृषिमा आधारित अर्थतन्त्र रहेको हाम्रो देशमा बहुसङ्ख्यक जनता कृषिमा संलग्न रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “कृषि उत्पादनले संरक्षण नपाउँदा एकातिर कृषि पेसाप्रतिको विकर्षण बढ्दो छ भने अर्कोतिर व्यावसायिक किसानले उत्पादित वस्तुको उचित मूल्य नपाएको अवस्था छ ।” कृषि क्षेत्रको विकासका लागि किसानलाई आवश्यक मल, बीउबिजन आदि समयमै उपलब्ध गराउनु र उत्पादित वस्तुको बजारको ग्यारेण्टी गर्नु राज्यको प्रमुख दायित्व भएको अध्यक्ष बाँस्कोटाको भनाइ थियो ।
महासङ्घका महासचिव प्रमेश पोखरेलले नेपाली किसानको आन्दोलनबाट स्थापित खाद्य सम्प्रभुताको अधिकार भनेको किसानको समृद्धि र कृषि क्षेत्रको रुपान्तरणसँग जोडिएको बताउँदै किसानले आफ्ना उपज सडकमा फ्याँकेर गरेको आन्दोलनबाट सरकार गम्भीर भएर उनीहरुलाई तत्काल बाह्य बजारबाट सुरक्षित गर्नुपर्नेमा जोड दिनुभयो ।