काठमाडौँ, माघ २६ : जनक शिक्षा सामग्री केन्द्रका रामविनय श्रेष्ठ र कृषि विकास बैंकका टक्कर कुँवर १३ औँ सार्वजनिक संस्थान खेलकुद प्रतियोगिताअन्तर्गत ब्याडमिन्टनको पुरुष एकलतर्फको विधामा क्वार्टर फाइनलमा प्रवेश गर्नुभएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को काभर्डहलमा आज भएको खेलमा रामविनयले नागरिक उड्डयन प्राधिकरणका रमेशबहादुर कुँवरलाई १२–२१, २१–११ र २१–७ तथा टक्करले नेपाल विद्युत् प्राधिकरणका रत्न श्रेष्ठलाई २१–१४ र २१–१७ को सेटमा पराजित गर्नुभयो ।
सोही स्पर्धामा राष्ट्रिय वाणिज्य बैंकका गुप्ता केसी, विद्युत्का सरोज तामाङ, नेपाल टेलिकमका सुरेन्द्रसिंह कार्की, नेपाल आयल निगमका लक्ष्मण विश्वकर्मा र विद्युतका भुपेन्द्र बिसी पनि क्वार्टर फाइनलमा पुग्नुभयो ।
सार्वजनिक संस्थान खेलकुद विकास सङ्घ नेपाल (पेस्डान) को आयोजनामा भइरहेको प्रतियोगिताको पुरुष डबल्समा टेलिकमका सुरेन्द्रसिंह कार्की र हरिकृष्ण शर्मा, वाणिज्य बैंकका रामजी आचार्य र सुमन घिमिरे, विद्युतका विष्णु मास्के र रमेश तामाङ, विद्युत्का राजु महर्जन र खगेन्द्र शाही, दुग्ध विकास संस्थानका शिव बस्नेत र राजकुमार घले, मुक्तिनाथ विकास बैंकका थानेश्वर अर्याल र प्रेम थापा तथा कृषिका राजकुमार निरौला र विनय पाण्डेको जोडीले क्वाटर फाइनलमा स्थान सुरक्षित गर्नुभयो ।
भेट्रान ४५ वर्षमाथि पुरुष डबल्समा विद्युत्का श्रीप्रसाद धिमाल र राजु महर्जन, वाणिज्य बैंकका गुप्ता केसी र लालबहादुर थापा, एभरेष्टका श्यामकुमार भट्टराई र पुष्पराज उप्रेती, टेलिकमका सुदीपआनन्द मल्ल र सीताराम श्रेष्ठ, जनक शिक्षाका रामविनय श्रेष्ठ र जनक भारती, नेपाल एयरलाइन्सका घनश्याम भट्ट र जङ्गबहादुर चन्द तथा विद्युत्का शङ्कर क्षेत्री र चन्द्रदास रन्जितको जोडीले क्वाटर फाइनलमा स्थान पक्का गर्नुभयो ।
आजदेखि सुरु भएको उक्त प्रतियोगिताको उद्घाटन सभामुख देवराज घिमिरेले गर्नुभयो । प्रतियोगितामा विभिन्न छ स्पर्धामा एक सय २६ खेलाडी सहभागी हुनुहुन्छ । ब्याडमिन्टनको कूल पुरस्कार राशि रु एक लाख ७५ हजार रहेको पेस्डानका अध्यक्ष कुलबहादुर आचार्यले जानकारी दिनुभयो ।