सुदूरपश्चिम,माघ २४ : तेक्वान्दोको राष्ट्रिय प्रतियोगितामा लागतार पाँच स्वर्ण पदक जितेर ‘नेपाल टप’को सफलतासँगै चर्चा कमाउनुभएका ‘गोविन्द गुरु’ अर्थात् गोविन्द बिष्ट हाल गुमनाम हुनुहुन्छ ।
तीन दशकअघिसम्म खेलप्रेमी माझ सुदूरपश्चिम र खासगरी धनगढीमा तेक्वान्दोका गोविन्द गुरुका नामबाट चिनिनु हुने उहाँ पछिल्ला वर्षमा तेक्वान्दो खेलका गतिविधि सुस्ताएसँगै चर्चा पनि हुन छाडेको हो ।
विसं २०४४ देखि २०४६ सम्म भएका राष्ट्रिय प्रतियोगितामा सेती अञ्चलको टोलीबाट प्रतिस्पर्धा गर्नुभएका उहाँले ५० केजी तौल समूहको फिनवेट विधामा पाँच पटकसम्म स्वर्ण पदक जितेर ‘नेपाल टप’ खेलाडीको पहिचान बनाउन सफल हुनुभएको थियो ।
विसं २०५२ देखि उहाँ जिल्ला खेलकुद विकास समिति कैलालीमा तेक्वान्दोको प्रशिक्षकका रुपमा कार्यरत हुनुहुन्छ । “खेल क्षेत्रको विकासमा राज्यले उचित ध्यान नदिँदा खेलाडी र प्रशिक्षकमा उत्साह देखिँदैन, प्रशिक्षकको वृत्ति विकासमा समेत उचित ध्यान दिइएको छैन”, धनगढी उपमहानगरपालिका निवासी उहाँले भन्नुभयो, “खेलकुदका गतिविधि अपेक्षित रुपमा बढ्न नसक्दा धेरै खेलका गतिविधि सुस्ताएका छन् ।”
उहाँ खेलाडीलाई नियमित प्रशिक्षण दिइरहनुहुन्छ । “कार्यालयमा प्रशिक्षण दिने कामबाहेक खेलकुदका अन्य गतिविधि केही छैनन्”, उहाँले थप्नुभयो, “खेल सामग्री नभएर जसोतसो सिकाउँदैछु, तेक्वान्दो खेलाउने तरिका एवं विधा आफ्नो छुट्टै हुँदा खेलाडी सन्तुष्ट नै छन् ।”
उहाँकै प्रशिक्षणबाट अब्बल खेलाडी बन्न सफल धेरैले राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पदक जितेर देशको नाम चिनाएका छन् ।
चार पटक तेक्वान्दोको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपाललाई स्वर्ण पदक जिताउन सफल दीपक बिष्टलाई उहाँले नै प्रशिक्षण दिनुभएको थियो ।
बमबहादुर बम, माया शेर्पा, सन्तराम विक, सुनिल शर्मा, सरोज चौधरी, केशव भट्ट, निलम योञ्जन, जस्ता तेक्वान्दोका चर्चित राष्ट्रिय खेलाडीलाई पनि उहाँले नै प्रशिक्षण दिनुभएको थियो ।
यीमध्ये धेरै खेलाडी विदेश पलायन भइसकेको बताइएको छ । खेलकुदमै लागेर जीवन निर्वाह गर्ने वातावरण नभएपछि धेरै खेलाडी विदेश पलायन भएको बताइएको छ ।
राष्ट्रिय प्रतियोगिता होस् वा अन्तर्राष्ट्रिय तेक्वान्दो, क्रिकेट, भलिबल, फुटवल, बक्सिङ जस्ता खेलमा सुदूरपश्चिमले धेरै राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी जन्माइसकेको छ ।
प्रशिक्षित कतिपय खेलाडीलाई भने नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले आ–आफ्नो टिममा समेट्दा भने गोविन्द गुरु सन्तुष्ट हुनुहुन्छ । उहाँले थप्नुभयो, “आफूले सिकाएर प्रतियोगितामा मेडल जितेका खेलाडीलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले बोलाउँदा सन्तुष्ट छु ।”
तेक्वान्दो खेलको प्रशिक्षण दिन हेड, चेष्ट, ग्रोइन र सिन गार्ड, की प्याड, किड ब्यागजस्ता सामग्रीको आवश्यकता हुन्छ । तर धेरै सामग्रीको अभाव छ । डोजाङ्ग (खेल खेलाइने ठाउँ)को पनि धेरै जिल्लामा अभाव छ । यो खेल मानिसको शारीरिक तन्दुरुस्ती र आत्मसुरक्षाका लागि उत्कृष्ट र लाभदायी मानिन्छ । यो खेल दक्षिण कोरियाको राष्ट्रिय खेल पनि हो ।
तेक्वान्दोप्रति बालबालिका, किशोरकिशोरी र वयस्क व्यक्तिको अभिरुचि बढ्दै गए पनि पूर्वाधारको अभावमा खेल्न पाउने वातावरण नभएको बताइन्छ ।
राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्य एलबी विष्टले गोविन्द विष्ट तेक्वान्दो खेल क्षेत्रमा नेपालकै अब्बल खेलाडीको पहिचान बनाउँदै हाल प्रशिक्षक रहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सुरुका वर्षमा आफूले नै उहाँलाई तेक्वान्दोमा लाग्न उत्प्रेरित गरेको थिएँ, बिस्तारै उहाँले तरक्की गर्नुभयो, अहिले उहाँका चेलाले ओलम्पिक खेल खेलिसक्दा खुसी नै लाग्छ ।”
आफ्नै पहलमा नेपालमा पहिलो पटक धनगढीबाट नै विसं २०३७ मा तेक्वान्दो खेल भित्रिएको एलवीको दाबी छ । “तत्कालीन पञ्चायती व्यवस्थामा शान्ति सुरक्षामा प्रतिकूल असर पुग्ने भन्दै यो खेल खेल्न प्रतिबन्ध लगाइएको थियो, कैलालीका प्रमुख जिल्ला अधिकारीले खेल खेलाएमा कारबाही गर्ने चेतावनी दिएको पत्र अहिले पनि आफूसँग सुरक्षित छ,” उहाँले भन्नुभयो, “त्यो समयमा लुकीछिपी यो खेल खेलिन्थ्यो, प्रशासनको दबाबका बाबजुद बिस्तारै यो खेल युवामाझ लोकप्रिय हुँदै गयो ।”
सुदूरपश्चिम प्रदेश धेरै खेलका प्रतिभावान् खेलाडी जन्माउने ‘हब’ बन्दै गएको भए पनि पहुँच र चाकरीका आधारमा खेलाडीलाई अवसर दिने प्रवृत्ति नरोकिँदा राम्रो सम्भावना भएका खेलाडी ओझेलमा पर्दै गएको गुनासो खेलप्रेमीको छ । जसका कारण राम्रो सम्भावना भएका खेलाडीले अवसरबाट वञ्चित हुनुपर्ने भई खेल क्षेत्रमा टिक्न सकिरहेका छैनन् ।
प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा खेलकुदको विकासलाई समेटेको छ । तर तिनको कार्यान्वयन पक्ष फितलो रहेको छ ।
सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्यसचिव दीपकबहादुर सिंह राष्ट्रिय खेलकुद परिषद्ले जिल्लामा रहेका खेलकुदका भौतिक संरचनासँगसँगै कर्मचारी प्रदेश खेलकुद परिषद् मातहत दिन आनाकानी गर्दा सोचेअनुसार खेलकुदका गतिविधि सञ्चालन गर्न समस्या भइरहेको बताउनुहुन्छ ।
वृत्ति विकासका सवालमा प्रदेशका प्रतिभावान् खेलाडीको संरक्षण गर्न नसकेको स्वीकार्दै उहाँले भन्नुभयो, “नीति कार्यक्रम अनुसारको बजेट नआउँदा पनि चाहेको काम गर्न सकिएको छैन, प्रदेश सरकारले गठन गरेको प्रदेश खेलकुद परिषद्मा कर्मचारी छैनन्, बिजुली वत्ती, पानी महसुल र मसलन्द जस्ता समान्य खर्च व्यहोर्नसमेत समस्या भइरहेको छ ।