किमाथाङ्का, माघ २३ : सङ्खुवासभामा राष्ट्रिय परिचयपत्रका लागि ८६ हजारभन्दा बढीको विवरण सङ्कलन भएको छ । राष्ट्रिय परिचयपत्र वितरणका लागि सङ्खुवासभामा ८६ हजार नौ सय ६० जनाको विवरण सङ्कलन भइसकेको राष्ट्रिय परिचयपत्र वितरण शाखाका प्रमुख आशा जबेगुले जानकारी दिनुभयो ।
राष्ट्रिय परिचयपत्रका लागि जिल्ला प्रशासन कार्यालय खाँदबारी र इलाका प्रशासन कार्यालय चैनपुरबाट विवरण सङ्कलन भइरहेको छ । सङ्खुवासभामा राष्ट्रिय परिचयपत्रका लागि २०७६ साल साउन ३ गतेदेखि विवरण सङ्कलन थालिएको हो ।
सरकारले राष्ट्रिय परिचयपत्र वितरणका लागि दोस्रो चरणमा प्रदेश १ का सङ्खुवासभा र झापाबाट विवरण सङ्कलन सुरु गरेको थियो । राष्ट्रिय परिचयपत्रका लागि जिल्लाका १० वटा स्थानीय तहमा पुगेर डाटा सङ्कलन गरिएको थियो । स्थानीय तहमा छुट भएका तथा नयाँ नागरिकता र राहदानीका लागिसमेत राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ ।
पछिल्लो समय नागरिकता र राहदानी बनाउनेको सङ्ख्या वृद्धि भएसँगै राष्ट्रिय परिचयपत्र विवरण सङ्कलनको सङ्ख्या वृद्धि भएको छ । परिचयपत्र विवरण सङ्कलनमा व्यक्तिको नाम, थर, जन्ममिति, लिङ्ग, आमाबाबुको नाम, ठेगाना, नागरिकताको किसिम, पति र पत्नीको नाम, बाजेको नाम, दश औँलाको छाप, नागरिकता नं, फोटो, राष्ट्रियता, हस्ताक्षर आदि आवश्यक पर्ने वितरण शाखा खाँदबारीका प्रमुख जबेगुले बताउनुभयो ।
परिचयपत्र निर्माणका लागि नागरिकता, विवाह दर्ता, बसाइँसराइ कागजको सक्कल आवश्यक पर्ने बताइएको छ । हालसम्म जिल्लामा दुई सय ४५ जनाको राष्ट्रिय परिचयपत्र बनिसकेको छ ।