ऋणमुक्त हुन विदुरले ल्यायो विनियोजन विधेयक

  माघ २३, २०७९

नुवाकोटको विदुर नगरपालिकाले हिउँदे बैठकले केही योजनाका बजेट रकमान्तर गर्दै बजेट घटबढ गरेको छ । नगरप्रमुख राजन श्रेष्ठको अध्यक्षतामा आइतबार सम्पन्न १२औँ नगरसभामा उपप्रमुख प्रभा बोगटीले पेस गर्नुभएकोे चालु आर्थिक वर्षको योजना तथा बजेटको ‘कार्यक्रम तथा बजेटको संशोधन तथा रकमान्तर विधेयक’ सर्वसम्मत पारित गरेसँगै तीनसय ३७ योजनामा बजेटको आकार परिवर्तन गरिएको हो ।

सो विधेयकमा यसअघि कार्यान्वयनका लागि पेस गरिएकामध्ये दुईसय ३० योजनाको बजेट रकमान्तर गर्दै बजेटको दायरा घटाइएको र एक सय सात योजनाको बजेटको दायरा बढाइएको उपप्रमुख बोगटीले जानकारी दिनुभयो । उहाँका अनुसार अघिल्लो आर्थिक वर्षको ऋण तिर्न बाँकी रहेको रु १४ करोड हाराहारी बजेट सुनिश्चित गर्दै चालु आर्थिक वर्षमा ऋण भुक्तानी गर्न बजेटको आकार घटबढ गरिएको हो ।

“विनियोजन विधेयकमार्फत रु १९ करोड ५३ लाख बजेट रकमान्तर गरिएको छ ।” उपप्रमुख बोगटीले भन्नुभयो,“बजेटको आकार आवश्यकताको आधारमा घटबढ गरिए पनि कूल बजेटको दायरा भने यथावत् राखिएको छ ।” विदुरले चालु आर्थिक वर्षमा अनुमानित रु एक अर्ब २४ करोड ८३ लाखको बजेट ल्याएको थियो ।

तपाईको प्रतिक्रिया