डा.गणेश गुरुङ
कोभिड १९ महामारी र त्यसले निम्त्याएको विश्वव्यापी बन्दाबन्दीले अर्थतन्त्रमा ठूलो मन्दी आउने आंकलन गरिएको छ । अर्थतन्त्रका विभिन्न अवयवलाई यसले प्रत्यक्षरुपमा प्रभावित गर्ने छ । यस्तै अवयव मध्ये एउटा हो रोजगारी । नेपालले पनि अहिलेसम्म एकमहिनाभन्दा धेरै लामो बन्दाबन्दी सामना गरिसकेको छ कोरोनाका कारण ठूलो मात्रामा रोजगारी प्रभाववित भइरहेको छ । बन्दाबन्दीले आर्थिक गतिवधिसँगै अन्तरराष्ट्रिय आप्रवासन र वैदेशिक रोजगारी ठप्प हुँदा विप्रेशणको अप्रवाह पनि सन् २०२०मा करिव २० प्रतिशतले खुम्चने आंकलन विश्व बैंकको छ । अगिल्लो वर्ष साढे ८ प्रतिशत वृद्धि भएको नेपालको विप्रेशण आप्रवाह यो वर्ष १४ प्रतिशतले ऋणात्मक हुने उसको आंकलन रहँदै आएको छ । यिनै विषयमा केन्द्रित रहेर गोरखापत्र अनलाईनका लागि पत्रकार गोपालचन्द्र सुवेदीले श्रमबजारका ज्ञाता डा.गणेश गुरुङसँग गरेको कुराकानीको सम्पादित अंश :
कोरोना महामारीका कारण रेमिट्यान्स आप्रवाह प्रभावित हुने बैदेशिक रोजगारी प्रभावित हुने बेरोजगारी बढ्ने आंकलन गरिएको छ । यसमा नेपालको अवस्था कस्तो हुने देख्नुहुन्छ ?
स्वाभाविक रुपमा अहिलेको अवस्था खराव छ । बन्दाबन्दीले धेरैले रोजगारी गुमाएका छन् । विदेशिएका धेरै नेपाली अहिले बन्दाबन्दीमा छन् । विदेशमा नेपाली श्रमिक अहिले चार खाले अवस्थामा रहेको मैले पाएको छु । एक खाले अहिले पनि काममै छन् । स्वास्थ्य सेवा, सुरक्षा लगायतमा रहेकाले काम पाइरहेका छन् दास्रो खाले पार्टटाइम छन्, तेश्रो कोठामै वा रोजगारदाताले बन्दोबस्त गरे अनुसार बस्ने खाने अवस्थामा छन् । चौथो चाहिँ रोजगारी गुमाएर अलपत्र जस्तै छन् । यो अवस्थाले रेमिट्यान्स त प्रभावित हुन्छ नै । चालु आर्थिक वर्षको पहिलो नौ महिनामा ५ अर्व ८० करोड डलर आएको देखिन्छ । तर अव लगभग ठप्प नै हुन्छ । पूर्वानुमान गरिएको मध्ये १० प्रतिशत मात्रै आउला । सन् २०२० मा त घटने नै भयो । तर यति हुँदा हुँदै पनि आत्तिनुपर्ने अवस्था भने हुनेछैन । विवेकसम्मत कदम चालियो भने हामीले लाभ लिने अवसर पनि आउने छन् ।
श्रम गन्तव्य मुलुकमा आर्थिक मन्दी आउनेकारणले अव वैदेशिक रोजगारीमा गएका समेत नेपाल फर्कन पर्ने खतरा छ भन्ने तर्कहरु पनि सार्वजनिक हुने गरेका छन् । तर तपाई आत्तिनु पर्दैन भन्नु हुन्छ कसरी ?
हो आर्थिक मन्दी आउन सक्छ । तर हाम्रा श्रमिक जाने मुलुक आर्थिक मन्दीका कारण टाट पल्टने अवस्थामा पुग्ने खालका छैनन् । केहि महिना उनीहरुलाई सकस होला तर मलेसिया दुबई कतारजस्ता खाडी मुलुकदेखि युरोप अमेरिका संक्रमणको त्रास हट्नासाथ अहिलेको क्षतिसमेत छिटो भन्दा छिटो पूरण गर्ने गरी पुनरोत्थानका योजना बनाउँदै छन् । उचित योजना र पूर्ण कार्यान्वयनले न ती देश विकाशको तीव्र गतिमा अगाडि बढेका हुन् । अहिले समस्या देखिए पनि विश्व श्रमबजार अझ विस्तार हुनेछ भन्ने मेरो ठम्याइ छ । कालो बादलमा चाँदीको घेरा छ ।
श्रमबजार विस्तार कसरी हुने देख्नु हुन्छ ?
विश्व अहिले घरभित्र बसिरहेको छ । अर्थिक औद्योगिक कृयाकलाप ठप्प छ । उत्पादन निर्माण जस्ता पक्ष बन्दजस्तै छन् । भोलि त उत्पादन निर्माण जस्ता कार्यलाई अहिलेको क्षति पूरा गर्ने गरी थप तिव्रता पाउने हो । त्यो गति बढाउन त श्रम शक्ति चाहियो नि । जस्तो की अहिले कतारको रंगशाला निर्माण रोकिएको छ तर विश्व कप त सरेको छैन । त्यो रंगशाला बनाउन अब पहिले भन्दा धेरै कामदार चाहिने छ । कामको अभाव हुँदैन । यो अवस्था त हाम्रा हरेक श्रम गन्तव्यमा आउनेछ । खाडीमात्र होइन युरोप अमेरिकामा पनि यो अवस्था आउने हो ।
तर कोरोना प्रकोप बढदैजाँदा धेरै नेपाली देश फर्किएका छन् । विदेशमै रहेका पनि काम विहीन भएर बसिरहेका छन् । लक डाउन खुल्नासाथ फर्कने पनि धेरै हुनसक्छन् भन्ने पनि छ । नेपाल भित्रै पनि पर्यटन, उद्योग क्षेत्रमा
रोजगारी गुमिसकेको छ । समस्या त सुरु भइसक्यो होइन र ?
हो । समस्या भएको छ । अहिले त अत्यावस्यक सेवा बाहेक चल्न सक्ने कुरै भएन । तर यहि अवस्थालाई नयाँ प्रस्थान विन्दु बनाउन सकिन्छ नी त्यता हेरौ न । अहिले युवा गाँउ गाँउमा पुगेका छन् सहर छाडेर स्थानीय सरकारहरुले उनीहरुलाई व्यवसायिक कृषि व अन्य उद्यम के हुनसक्छ मा आकर्षण गर्नु पर्दछ । केन्द्र सरकारले पनि यहि बेला उपयुक्त कार्यक्रम बनाउनु पर्छ । रोजगारी जति पनि सृजना हुन्छ । लक डाउनका वेला पनि राष्ट्रिय गौरव लगायतका ठूला पूर्वाधार निर्माणलाई तदारुकता दिने हो भने स्वदेशी श्रम बजार नै फैलन्छ । श्रमिकको माग बढछ । त्यतिमात्र होइन हाम्रा उद्योग कल कारखाना निर्माण क्षेत्रमा भारत बंगलादेशका श्रमिकले काम गर्छन । उनीहरु अहिले स्वदेश गएका छन् । ती स्थानमा नेपालीलाई नै राख्ने अवसर छ । निजी क्षेत्रले पनि यसमा भूमिका खेल्नु पर्छ ।
फेरि नेपाली युवा त स्वेदश भन्दा विदेश नै जान खोज्छन भनिन्छ । अव कोरोना महामारी पछिको अवस्थामा स्वदेशमै काम गर्ने सोच र अवस्था आउन सक्ला त ?
यो प्रवृति चाहि अलिक नकारात्मक नै हो । विदेश गएर जे गरिरहेका छन् त्यहि काम स्वदेशमा गर्न लाज मान्ने गलत प्रवृति छ । काम प्रति सम्मान र सुनिश्चितता नभएर पनि हुनसक्छ । हामी कहाँ सोच त आउँछ । तर व्यवहार उस्तै हुन्छ । ०७२ को भूईचालोमा अग्ला घर भन्दा त साना घर नै ठिक भन्ने धेरै थिए । तर अहिले त अग्ला भवन नै बनेका छन् । स्वेदशकै रोजागारीलाई प्राथमिकतामा राख्दा केहि सकारात्मक अवस्था त आउँछ । तर अवको दिनमा बैदेशिक रोजगारीलाई पनि अझै नयाँ ढंगले अगाडि बढाउन पनि सक्नुपर्ने हुन्छ ।
नयाँ ढंगले भन्नाले ?
अहिले विश्व श्रमबजारमा मन्दी छ । यसले धेरै परिवर्तन ल्याउने छ । धेरै प्रवृत्ति फेरिनेछन् । कामदार आपूर्ति पद्धति प्रभावित हुन सक्छ । धेरैले नयाँ श्रमिक आपूर्ति गर्नुपर्ने छ । त्यसैले एक किसिमको उथल पुथल हुन सक्छ । त्यो अवस्थाको पूवार्नुमन हामीले अहिले गर्नुपर्छ । विभिन्न देशमा रहेका दुतावासहरुले त्यहाँको श्रम बजार निजी क्षेत्रमा कस्तो परिवर्तन आउँदै छ । त्यो नियालेर बस्नुपर्ने हुन्छ अहिले । श्रम गन्तव्य मूलुकमा अब कस्ता कामदार कसरी आपूर्ति गर्ने भनेर अहिले जुट्नु पर्छ । अन्यथा हाम्रा गन्तव्य गुम्न पनि सक्छ । दक्ष र अनुभवी कामदारको माग झन बढने छ । त्यो दक्षता दिने काममा हामीले सोच्नु पर्छ । पर्याप्त तयारीमा अहिलेदेखि नै सम्बन्धित निकायहरु जुट्नुपर्छ ।
यसमा त वैदेशिक रोजगार व्यवसायीहरुको पनि भूमिका आवश्यक होला ?
भूमिका त हुन्छ । तर हाम्रा वैदेशिक रोजगार व्यवसायीहरु प्रतिकृयात्मक मात्र छन्, प्रो एक्टिभ छैनन् । उताबाट मागपत्र जुटाउने यता मान्छे खोज्ने ढर्राका मात्र छन् अधिकाँश । उनीहरुले पनि अध्ययन गर्ने, जनशक्ति विकास गर्ने बजार प्रवर्दन गर्नेजस्ता कार्य गर्नुपर्ने हुन्छ ।
समग्रमा तपाईको भनाई श्रम बजार तात्कालिक रुपम प्रभावित भए पनि त्यस पछिको अवस्था राम्रो नै छ भन्ने हो ?
अवश्य पनि । भविस्यका लागि उचित योजना र त्यसको कार्यान्वयन सहि ढंगले गर्नुपर्छ । आन्तरिक र विश्व श्रमबजारको पूर्ण सदुपयोग गर्ने अवसर नजिकिँदै छ ।