काठमाडौँ,माघ १२ : म्युजिक नेपाल र नेपाल फिल्म क्याम्पसको संयुक्त आयोजनामा सर्ट फिल्म कम्पिटिसन हुने भएको छ ।
नेपाल फिल्म क्याम्पसमा आयोजित पत्रकार सम्मेलनमा आज फिल्म निर्माणमा रुचि भएर पनि प्लेटफर्मको खोजीमा रहेका फिल्मकर्मीलाई लक्षित गरी प्रतिस्पर्धा गर्न लागिएको जानकारी नेपाल फिल्म क्याम्पसका प्रमुख शिशिर उप्रेती दिनुभयो ।
“अवसरको खोजीमा रहेकालाई सर्ट फिल्म कम्पिटिसनले अगाडि बढ्न मद्दत गर्न सक्छ । पैसा छैन तर कथा छ भने पनि निर्माणमा हातेमालो गर्न तयार छौँ भन्ने सन्देश दिन यो प्रतिस्पर्धा आयोजना गर्न लागेका हौँ”, क्याम्पस प्रमुख उप्रेतीले भन्नुभयो ।
म्युजिक नेपालले सङ्गीतसँगै फिल्ममा केही गरौँ भन्ने अभिप्रायले प्रतिस्पर्धा सहकार्य गरेको प्रतिनिधि राजीव लोहनीले बताउनुभयो । “हामी दायरा फराकिलो पार्दै फिल्मकर्मीसँग काम गर्न इच्छुक छौँ । यो एउटा सुरुआत हो”, लोहनीले भन्नुभयो ।
कम्पिटिसनमा निर्णायकका रूपमा अनुप बराल, सुरक्षा पन्त र सुजित बिडारी रहनुहुनेछ । “सर्ट फिल्म भनेको बेर्ना हो । यही बेर्ना ठूलो भएर रुख बन्छ र फल दिन्छ ।
फिल्मकर्मीका लागि पनि लघु फिल्म यस्तै बेर्ना हो । सानो चिज बनाउन झन् ठूलो मेहनत पर्छ तर सानो चिजकै सामथ्र्य ठूलो हुन्छ”, निर्णायक बरालले भन्नुभयो ।
प्रतिस्पर्धामा सहभागी हुन चाहने फिल्मकर्मीले आगामी फागुन ३० गतेसम्म कथासार बुझाउनुपर्नेछ भने चैत १७ भित्र स्क्रिप्ट बुझाउनुपर्नेछ ।
यसरी आएका स्क्रिप्टलाई निर्णायकद्वारा तीन दिन प्रशिक्षण दिइनेछ र तत्पश्चात पुनर्लेखन गरी आएका स्क्रिप्टमध्येबाट १० स्क्रिप्ट छानेर निर्माण सहायता प्रदान गरिनेछ ।
छानिएका १० फिल्मले निर्माणका लागि रु ७५ हजार नगद प्राप्त गर्नेछन् । यो प्रक्रियापछि निर्माण भएर आएका फिल्ममध्ये पहिलो बन्नेले रु दुई लाख नगद प्राप्त गर्नेछ भने बाँकी अन्यले विधागत रूपमा नगद पुरस्कार पाउनेछन् ।
स्क्रिप्ट तथा निर्देशनमा उत्कृष्ट हुनेले रु ५० हजार प्राप्त गर्नेछ भने अभिनय, छायाङ्कन, सम्पादन र ध्वनिमा उत्कृष्ट काम देखाउनेले पनि समान नगद रु ५० हजार प्राप्त गर्नेछन् ।