अपहरणको मुद्दा दर्ता गर्न प्रहरी कार्यालय पुगे जनता समाजवादीका नेता

  बैशाख १४, २०७७

काठमाडौं, वैशाख १४ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्वप्रहरी महानिरीक्षक सवेन्द्र खनालविरुद्ध अपहरण तथा शरीर बन्धकको मुद्दा दर्ता गर्न जनता समाजवादी पार्टीका नेताहरु महानगरीय प्रहरी परिसर, काठमाडौं पुगेका छन् ।

उनीहरुले नेकपा सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्वआईजीपी सर्वेन्द्र खनालविरुद्ध किटानी जाहेरी दिने तयारी गरेको पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले बताए ।

उजुरी दिन पार्टीका नेताहरु बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, हिसिला यमि तथा सांसद सुरेन्द्र यादव परिसर पुगेका छन्। हालै एकीकरण भएका राजपा र समाजवादीका नेताहरु टेकुस्थित नेपाल उद्योग वाणिज्य महासंघ परिसरमा आन्तरिक छलफल गरी परिसर पुगेका हुन् ।

वैशाख १० गते राति महोत्तरीस्थित घरबाटै सांसद यादवलाई पूर्व आईजीपी खनाल तथा सांसदद्वय बस्नेत र श्रेष्ठले जबर्जस्ती काठमाडौं ल्याएको आरोपमा समाजवादी पार्टीले लगाउँदै आएको छ ।

परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवाली कार्यालयमा छैनन् । जसपाका नेताहरुले एसपी सोमेन्द्र राठोरसँग कुराकानी गरिरहेका छन् । तर जाहेरी दर्ता भएको छैन ।

खनाल, श्रेष्ठ र बस्नेतले तत्कालीन समाजवादी पार्टी फुटाउने प्रयासमा १० वैशाखमा महोत्तरी पुगेर सांसद यादवलाई काठमाडौं ल्याएका थिए । समाजवादी पार्टीका नेताहरुले प्रधानमन्त्रीकै निर्देशनमा आफ्ना सांसदलाई अपहरण गरिएको दाबी गरे ।

भोलिपल्ट विहानै सांसद यादव मेरियट होटलबाट भागेर समाजवादी पार्टीका नेताहरुको सम्पर्कमा पुगे । र, आफूलाई अपहरणकै शैलीमा काठमाडौं ल्याइएको बयान दिएका छन् । तर खनाल, श्रेष्ठ र बस्नेतले भने उनकै सहमतिमा काठमाडौं ल्याइएको बताउँदै आएका छन् ।

तपाईको प्रतिक्रिया