दमौली, माघ २ : तनहुँको आँबुखैरेनी गाउँपालिकामा सञ्चालित अस्पताललाई एक सय शय्या क्षमताको अस्पताल बनाउन पहल थालिएको छ ।
पन्ध्र शय्याको अस्पताल सञ्चालन गरेको गाउँपालिकाले अब निकट भविष्यमै एक सय शय्या क्षमताको अस्पताल सञ्चालनको तयारी गरेको हो । गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले आँबुखैरेनी क्षेत्रमा एक सय शय्या क्षमताको अस्पताल अतिआवश्यक भइसकेको बताउनुभयो । आँबुखैरेनी तथा आसपासका जिल्लाका सर्वसाधारणलाई गाउँठाउँमै स्वास्थ्य सेवा दिन एक सय शय्या क्षमताको अस्पताल निर्माण गरिने चुमानले बताउनुभयो । त्यसका लागि सङ्घ र प्रदेश सरकारसँग सहकार्य गर्न आफूहरु तयार रहेको चुमानले उल्लेख गर्नुभयो ।
“पन्ध्र शय्याको अस्पताल हामी आफैँ चलाइरहेका छौँ, एक सय शय्याको अस्पताल प्रदेश र सङ्घीय सरकारको सहकार्यमा बनाउने लक्ष्य राखेका छौँ”, चुमानले भन्नुभयो, “त्यसपछि आँबुखैरेनीमात्र नभई छिमेकी जिल्लाका सर्वसाधारण स्वास्थ्य सेवाका लागि अन्यत्र धाउनुपर्ने अवस्थाको अन्त्य हुन्छ ।”
गाउँपालिकाले अस्पताल सञ्चालनका लागि आवश्यक बजेट विनियोजनका लागि सरकारको ध्यानाकर्षण गराइसकेको छ । “तीनवटै तहको सरकारको आवश्यक समन्वयबाट अस्पताल सञ्चालनका लागि सरकारको ध्यानाकर्षण गराएका छौँ”, चुमानले भन्नुभयो ।
गाउँपालिकाले मङ्सिर १ देखि आँबुखैरेनी गाउँपालिका–३ मा सञ्चालन भइरहेको स्वास्थ्यचौकीलाई सेवा विस्तार गरी अस्पतालमा रुपान्तरण गरिसकेको छ । स्वास्थ्यचौकीलाई विस्तार गरी मेडिकल अधिकृतसहितको अस्पताल सञ्चालन गरिएको चुमानले बताउनुभयो ।
अस्पतालबाट इमर्जेन्सी, आधारभूत प्रयोगशाला, एक्सरे, भिडियो एक्सरे, इसिजी, फार्मेसीलगायतका सेवा सुरु गरिएको छ । अस्पतालमा एक जना एमडिजीपी र दुई जना मेडिकल अधिकृतको व्यवस्था गरिएको छ ।
गाउँपालिकावासीलाई सहज र सरलरुपमा स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले अस्पताल सञ्चालनमा ल्याइएको चुमानले बताउनुभयो । गाउँपालिकामा अस्पताल नहुँदा यहाँका सर्वसाधारण चितवन, दमौली, पोखरालगायतका ठाउँमा उपचार गर्न जार्नुपर्ने बाध्यता छ ।
गाउँपालिकाले ७० वर्षभन्दा माथिको ज्येष्ठ नागरिक र सुत्केरी हुँदा गर्भवती महिलालाई गाउँपालिकाको अस्पतालबाट निःशुल्क सेवा दिनेछ । “अस्पताल सञ्चालन भएपछि सामान्य उपचारका लागि बाहिर जानुपर्ने बाध्यताको अन्त्य हुनेछ, ज्येष्ठ नागरिक र गर्भवतीलाई निःशुल्क सेवा दिन्छाँै”, चुमानले भन्नुभयो ।
गाउँपालिकाले केही समय अगाडि स्वास्थय मन्त्रालयसँग एक थान एक्सरे मेसिन, एक थान अल्ट्रासाउण्ड मेसिन, एक थान ग्रामीण अल्ट्रा साउण्ड मेसिन, एक थान डिजिटल एक्सरे मेसिन, पाँच थान क्यासेट, एक थान इसिजी मेसिन, पाँच थान डायलासिसका लागि आवश्यक पर्ने मेसिन, एक थान अटो एनालाइजर माग गरेको थियो ।
गाउँपालिकाले अस्पतालबाटै मिर्गाैला बिरामीलाई डायलासिस सेवा दिने तयारी गरेको छ । हाल दमौली अस्पतालबाट मात्र डायलासिस सेवा उपलब्ध हुँदै आएको छ ।
संस्थागत स्वमूल्याङ्कनमा व्यास
स्थानीय तह संस्थागत स्वमूल्याङ्कनमा व्यास नगरपालिकाले ८७ दशमलव पाँच प्रतिशत प्राप्त गरेको छ । विभिन्न सूचकका आधारमा नगरपालिकाले उक्त प्रतिशत प्राप्त गरेको हो । आर्थिक वर्ष २०७८÷७९ मा सम्पादित कार्यक्रमलाई आधारमानी उक्त मूल्याङ्कन गरिएको हो । गत आर्थिक वर्ष २०७८÷७९ मा नगरपालिकाले ८९ प्रतिशत प्राप्त गरेको थियो
नगरपालिकाले समग्र स्थितिमा ९० दशमलव ४८, प्रक्रियागत स्थितिमा ८५ दशमलव २९ र परिमाणात्मक स्थितिमा ८७ दशमलव ७८ प्रतिशत प्राप्त गरेको प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिनुभयो ।
त्यस्तै भौतिक पूर्वाधारमा ८० दशमलव ७७, सामाजिक समावेशीकरणमा ८५, सहकार्य र समन्वयमा ३३, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ८८ दशमलव ८९ प्रतिशत प्राप्त गरेको छ ।
शासकीय प्रबन्धमा ९४ दशमलव ४४, वित्तीय एवं आर्थिक व्यवस्थापनमा १००, सङ्गठन तथा प्रशासनमा ८७ दशमलव पाँच, सेवा प्रवाहमा ९३ दशमलव ७५, न्यायिक कार्य सम्पादनमा १०० र वार्षिक बजेट तथा योजना व्यवस्थापनमा ९० दशमलव ९१ प्रतिशत प्राप्त गरेको नगरपालिकाले जनाएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन स्थानीय तहहरुको संस्थागत क्षमता मूल्याङ्कनका लागि दश विषय क्षेत्रमा तीन स्थिति विभाजन गरी उक्त नतिजा सार्वजनिक गर्ने गर्छ । स्थानीय तहको कार्यप्रक्रिया र उपलब्धिको बारेमा लेखाजोखा गरी सबल र दुर्वल पक्षको पहिचान गर्न, विकास तथा सुशासनमा रहेका कमी कमजोरीहरुको जानकारी लिन, आवधिक समीक्षाको लागि आधार प्राप्त गर्न र गाउँपालिका तथा नगरपालिकाको बीचमा तुलनायोग्य सूचक तर्जुमा गरी प्रतिस्पर्धात्मक सुधारमा अग्रसर गराई स्थानीय तहलाई सक्षम र प्रभावकारी बनाउन वाञ्छनीय भएकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८० को प्रयोजनका लागि मन्त्रालयले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि बनाएको थियो
मन्त्रालयको कार्यविधिअनुसार शासकीय प्रबन्धतर्फ नौ, सङ्घठन तथा प्रशासनतर्फ आठ, वार्षिक बजेट तथा योजना व्यवस्थापनतर्फ ११, वित्तीय एवं आर्थिक व्यवस्थापन ११, सेवा प्रवाहतर्फ १६, न्यायिक कार्य सम्पादनतर्फ सात, भौतिक पूर्वाधारतर्फ सात, सामाजिक समावेशीकरणतर्फ १०, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनतर्फ नौ र सहकार्य र समन्वयतर्फ छ कूल भार निर्धारण गरिएको छ ।
देवघाटमा पाँच लाख भक्तजन
तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थल देवघाटधाममा पाँच लाख भन्दा बढी भक्तजनले माघेसङ्क्रान्ति मेला भरेका छन । प्रसिद्ध धार्मिक तीर्थस्थलमा आइतबार पाँच लाख भन्दा बढी भक्तजनले माघेसङ्क्रान्ति मेला भरेको देवघाट क्षेत्र विकास समिति तनहुँले जनाएको छ । मेला भर्नका लागि नेपालका विभिन्न जिल्लाका अतिरिक्त भारतबाट पनि भक्तालु देवघाट आएको क्षेत्र विकास समितिका अध्यक्ष बद्रीनाथ अधिकारीले जानकारी दिनुभयो । “माघेसङ्क्रान्ति मेला शान्तिपूर्ण रुपमा सम्पन्न भयो, कुनै अप्रिया घटना भएन,” उहाँले भन्नुभयो, “हामीहरुले अनुमान गरेभन्दा पनि बढी भक्तजनको आगमन भयो ।”
क्षेत्र विकास समितिले पाँच लाख भक्तजनले मेला भर्ने अनुमान गरेको थियो । “शनिबारदेखि नै भक्तजनको आउने क्रम चल्यो, पाँच लाख भन्दा बढी भक्तजन आएको अनुमान छ,” उहाँले भन्नुभयो । आइतबार दिउँसो १ बजेसम्म भक्तजनको आगमन बढ्दो रुपमा रहेको र ४ बजेपछि घट्दो क्रममा रहेको थियो ।
हरेक वर्ष पुसको अन्तिम दिन र माघ १ गते देवघाटमा माघे सङ्क्रान्ति मेला
लाग्ने गर्दछ । मेलालाई व्यवस्थापन गर्न क्षेत्र विकास समितिले एक सय ५१ सदस्यीय मूल समिति र विभिन्न उपसमिति बनाएर मेला व्यवस्थापनको काम गरेको थियो । चितवनतर्फको देवघाट र तनहुँतर्फको वेणीमा स्नान गर्नका लागि सीमा तय गरेर डोरी टाँग्ने काम गरिएको थियो । स्नान गर्न आउनेहरू पानीमा डुब्न सक्ने भएकाले नेपाली सेना, सशस्त्र प्रहरीको उद्धार टिम र स्थानीय बोटे समुदायलाई तयारी अवस्थामा राखिएको थियो ।
खानेपानी, यातायात, पार्किङ, शौचालय लगायतलाई व्यवस्थित गर्न विभिन्न उपसमिति बनाईएको थियो । यसपटक चितवनबाट देवघाट जाने झोलुङ्गे पुलमा एक पटकमा एक सय जनाभन्दा बढीलाई जान नदिने गरी सुरक्षाकर्मी राखिएको थियो । दासढुङ्गामा पक्की पुल भएकाले देवघाटको वेणीमा स्नान र दर्शन गर्न चाहनेलाई सोही पुल प्रयोग गर्न लगाइएको थियो । नदीबाट नै वारपार गर्न चाहनेहरुका लागि ३५ वटा डुङगाको व्यवस्था गरिएको थियो ।
माघे सङ्क्रान्तिमा देवघाटमा हुने मेला नेपालकै सबैभन्दा ठूलो र प्रसिद्ध मानिन्छ । गोसाइँकुण्डबाट बगेको त्रिशुली र दामोदरकुण्डबाट बगेको कालीगण्डकीको सङ्गम देवघाटको वेणीमा स्नान गर्नाले पुण्य प्राप्त हुने विश्वास छ ।