निःशुल्क स्यानिटाइजर वितरण गर्दै मध्यपश्चिमाञ्चल विश्वविद्यालय

  बैशाख १३, २०७७

सुर्खेत, वैशाख १३ : मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) आफँैले उत्पादन गरेका स्यानिटाइजर निःशुल्क वितरण गर्न थालेको छ । कर्णालीमा स्यानिटाइजरको अभाव रहेकाले विश्वविद्यालयको विज्ञान तथा प्रविधि सङ्कायले उत्पादन गरी वितरण शुरु गरेको हो ।

उपकुलपति प्रा डा नन्दबहादुर सिंहले प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी, मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सभामुख राजबहादुर शाही, प्रदेश अस्पताल, सुरक्षा निकायका साथै सर्वसाधारण घरधुरीलाई विश्वविद्यालयले उत्पादन गरेका ९०० थान स्यानिटाइजर हस्तान्तरण गर्नुभयो । विज्ञान तथा प्रविधि केन्द्रीय क्याम्पसको प्रयोगशालाबाट स्यानिटाइजर उत्पादन शुरु भएको छ ।

विश्वविद्यालयका उपकुलपति सिंहले कोभिड–१९ को जोखिमबाट सुरक्षित रहन स्यानिटाइजरको प्रयोग आवश्यक भएको बताउनुभयो । बढ्दो मागसँगै बजारमा अभाव सिर्जना भएकाले विश्वविद्यालयले उत्पादन शुरु गरेको उहाँको भनाइ छ । “स्यानिटाइजर उत्पादनले विश्वविद्यालयलाई समुदाय र इण्डष्ट्री (उद्योग) सँग जोडेर उच्च शिक्षालाई उत्पादन र आर्थिक समृद्धितर्फ अगाडि बढ्न हौसला मिलेको छ”, उहाँले भन्नुभयो, “सैद्धान्तिक र व्यवहारिक ज्ञानको सदुपयोग गर्न सकेपछि मात्र उच्च शिक्षाको सान्दर्भिकता रहन्छ ।”

त्यस्तै विश्वविद्यालयले कर्णाली प्रदेशमा कोरोना रोकथाम, नियन्त्रण र उपचार कार्यमा आवश्यक परेमा ८०५ स्वयंसेवक परिचालन गर्न सकिने जनाएको छ । उपकुलपति सिंहले स्वयंसेवकको विवरण मुख्यमन्त्रीसमक्ष पेश गरिसक्नुभएको छ । रजिष्ट्रार यमबहादुर कार्कीले लकडाउनको समय सदुपयोग गर्दै विश्वविद्यालयको प्राज्ञिक जनशक्ति प्रयोगात्मक, अनुसन्धानमूलक गतिविधिमा सक्रिय रहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया