बैतडी, पुस २७ : बैतडीमा आजदेखि प्रथम खुला नेपाल–इन्डो टी–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । पञ्चकोटी युवा क्लबको आयोजनामा उक्त प्रतियोगिता सञ्चालन भएको हो ।
पहिलो दिन आज दुई खेल सम्पन्न भएका छन् । दशरथचन्द नगरपालिका–१० स्थित बुड्डाबाजे खेल मैदान रातामाटामा भएको पहिलो खेलमा रातामाटा विद्यालयलाई हराएर आयोजक पञ्चकोटी युवा क्लब ‘ए’ विजयी भएको छ । उक्त खेलमा जितु रावल म्यान अफ द म्याच घोषित भए ।
दोस्रो खेलमा एनआरवाइसीलाई हराउँदै रणशैनी क्लब विजयी भयो । रञ्जित थापा म्यान अफ द म्याच चुनिए । आगामी माघ ५ गतेसम्म चल्ने उक्त प्रतियोगितामा नेपाल र भारतका गरी १५ टोलीको सहभागिता छ ।
प्रतियोगिताको उपाधि विजेताले रु ४० हजार र उपविजेताले रु २० हजार पुरस्कार प्राप्त गर्ने आयोजक पञ्चकोटी युवा क्लबका अध्यक्ष उत्तम चन्दले जानकारी दिए ।
सीमावर्ती क्षेत्रका बासिन्दाबीच खेलमार्फत सद्भाव कायम गर्न, क्रिकेटको विकास तथा खेलाडीको क्षमता अभिवृद्धिका लागि प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ ।