काठमाडौं, पुस २५ : स्पेनिस ला लिगा फुटबलको उपाधि दौडमा रहेको बार्सिलोनाले एट्लेटिको म्याड्रिडमाथि कठिन जित निकालेको छ ।
आइतबार राति भएको खेलमा बार्सिलोनाले एट्लेटिकोलाई उसैको मैदानमा १-० गोलले हरायो । जितसँगै शीर्षस्थानमा रहेको बार्सिलोनाले दोस्रो स्थानमा रहेको रियल म्याड्रिडलाई तीन अंकले पछि पारेको छ ।
बार्सिलोनाको जितमा औसमाने डेम्बेलेले निर्णायक गोल गर्नुभयो । डेम्बेलेले २२औं मिनेटमा गरेको गोल बार्सिलोनाको जितमा प्रयाप्त बनेको थियो ।
प्रतिस्पर्धात्मक खेलमा एट्लेटिकोले गोलका लागि राम्रो अवसर बनाएपनि सदुपयोग गर्न सकेन । खेलको अन्तिममा दुवै टोलीले १०/१० खेलाडीमा खेल सकेका थिए । जितसँगै शीर्षस्थानमा रहेको बार्सिलोनाले १६ खेलबाट ४१ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको रियलको ३८ अंक छ ।
पराजित एट्लेटिको २७ अंकसहित पाँचौं स्थानमा छ । अन्य खेलमा सेभियाले गेटाफेलाई २-१, रियल बेटिसले रायो भालेकानोलाई २-१ र रियल सोसियाडले अल्मेरियालाई २-० गोलले हराएको छ ।
स्रोत : गोरखापत्र अनलाइन