शिक्षकलाई खेलकुदको तालिम दिन सम्झौता

  पुष २४, २०७९

गण्डकी, पुस २४ : गण्डकी विश्वविद्यालय र पटिहानी फुटबल क्लब चितवनबीच खेलकुद प्रशिक्षक तालिम सञ्चालनका लागि सम्झौता भएको छ । ब्याचलर इन स्पोर्टस म्यानेज्मेन्ट ९खेल व्यवस्थापन० गण्डकी विश्वविद्यालय र क्लबले खेल प्रशिक्षक तालिमका लागि सम्झौता गरेको हो ।

सम्झौताअनुसार माघ १८ देखि २१ गतेसम्म चितवनका स्कुलका खेलकुद शिक्षक, क्लबका सदस्यलाई तालिम प्रदान गरिनेछ ।

ब्याचलर इन स्पोर्टस म्यानेज्मेन्ट कार्यक्रमका कोर्डिनेटर डा मधुसूदन सुवेदी र पटिहानी फुटबल क्लबका अध्यक्ष पोस्टराज तिमिल्सिनाले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।

प्रदेश सरकारद्वारा स्थापित गण्डकी विश्वविद्यालयले स्नातक तहको स्पोर्टस म्यानेजमेन्ट ९बिएसएम० नेपालमा पहिलोपटक अध्ययन अध्यापन सुरु गरेको हो ।

कुनै पनि विषयमा कक्षा १२ वा नेपालमा सञ्चालन भएका सिटिइभिटी कोर्षबाट डिप्लोमा उत्तीर्ण गरेकाहरुले बिएसम्मको अध्ययन गर्न पाउँछन् ।

चारवर्षे कोर्षको आठ सेमेष्टरअन्तर्गत अध्ययन अध्यापन हुने स्पोर्टस म्यानेजमेन्ट ९बिएसम०ले नेपाली खेलकुदको जगलाई अझ बलियो बनाउन सहयोग पुग्ने उद्देश्यका साथ विश्वविद्यालयले यो विषय सुरुआत गरेको हो ।

‘शिक्षासँगै खेलकुद’ भन्ने नाराका साथ पटिहानी फुटबल क्लबले मङ्सिरमा जिल्लाका ३२ सामुदायिक विद्यालयको सहभागितामा ‘पिएफसी इमर्जिङ कप’को आयोजना गरेको थियो ।

स्थापनादेखि नै क्लबले फुटबलमा नयाँ खेलाडी उत्पादनका लागि तालिमसँगै विभिन्न गतिविधि गर्दै आएको छ । तालिमबाट ३० जना लाभान्वित हुने पटिहानी फुटबल क्लबका अध्यक्ष तिमल्सिनाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया