प्रधानमन्त्री कप महिला क्रिकेट : रितुको कप्तानीमा बैतडीको टोली घोषणा

  पुष १६, २०७९

बैतडी, पुस १६ : प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशस्तरीय छनोटका लागि बैतडीको टोली घोषणा गरिएको छ । जिल्ला क्रिकेट सङ्घले रितु कनौजियाको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो ।

टोलीका अन्य सदस्यमा निर्मला भण्डारी, पिङ्की बोहरा, वसन्ती बोहरा, रेनु पेला, लक्ष्मी महर, मनिषा बोहरा, ममता बोहरा, आरती बोहरा, करिश्मा थापा, जानकी थापा, सङ्गीता मौनी, ललिता चन्द र दिव्या कार्की रहेका छन् ।

यस्तै पूजा कार्की, बबिता बोहरा, लक्ष्मी बोहरा, आशिका बोहरा वैकल्पिक खेलाडीका रुपमा रहेका छन् । प्रशिक्षकमा दीपेन्द्र चन्द र व्यवस्थापकमा दीपेन्द्रबहादुर बोहरालाई जिम्मेवारी लिइएको छ ।

दुईदिनसम्म सञ्चालन भएको बन्द प्रशिक्षणबाट उत्कृष्ट प्रदर्शन गरेका आधारमा टोली घोषणा गरिएको सङ्घका सचिव सिद्धराज बोकटीले जानकारी दिनुभयो । सुदूरपश्चिम प्रदेश छनोट प्रतियोगिता यही पुस १८ गतेदेखि कैलालीको फाप्ला मैदानमा हुँदैछ ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव तेजप्रकाश भट्टका अनुसार सहभागी हुने सात टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा कञ्चनपुर, बैतडी, डोटी र अछाम रहेका छन् । यस्तै समूह ‘बी’ मा कैलाली, बझाङ र डडेल्धुरा रहेका छन् ।

सहभागीमध्ये शीर्ष दुईमा पुग्ने टोलीबीच यही पुस २३ गते फाइनल भिडन्त हुने जनाइएको छ । प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट सुदूरपश्चिम प्रदेशको टोली बनाइनेछ । उक्त टोलीले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउनेछ । नेपाल क्रिकेट सङ्घको आयोजनामा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता पुस २९ गतेदेखि इटहरीमा हुँदैछ ।

तपाईको प्रतिक्रिया