गाउँपालिकाद्वारा १० शय्याको आधारभूत अस्पताल सञ्चालन

  पुष १६, २०७९

गोरखा, पुस १६ : गोरखाको भीमसेन थापा गाउँपालिकाले १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले वडा नम्बर ६ अश्राङमा रहेको स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी शहीद स्मृति आधारभूत अस्पताल सञ्चालनमा ल्याएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीले जानकारी दिनुभयो । पालिकाभित्र रहेका सबै नागरिकमा सहज र सुलभरुपमा स्वास्थ्योपचार सेवा पुु¥याउने उद्देश्यले आधारभूत अस्पताल सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो ।

आधारभूत अस्पतालमा बहिरङ्ग, प्रयोगशाला, फामेर्सीलगायतका सेवा उपलब्ध रहेको अधिकृत अधिकारीले जानकारी दिनुभयो । त्यसबाहेक एक्सरे, आकस्मिक सेवा तथा बिमा कार्यक्रमसमेत तत्काल विस्तार गर्ने योजना रहेको उहाँले बताउनुभयो । अस्पतालमा चिकित्सकसहित स्वास्थ्यतर्फ नर्स, स्वास्थ्य सहायक, फार्मेसी सहायक, डेन्टल हाइजिनिष्टलगायतका आवश्यक स्वास्थ्यकर्मीको व्यवस्था रहेको अधिकारीको भनाइ छ ।

“यस क्षेत्रका नागरिक सामान्य बिरामी परे उपचारका लागि सदरमुकाम र सदरमुकाम बाहिर लैजानुपर्ने बाध्यता रहँदै आएको थियो”, उहाँले भन्नुभयो, “अब अस्पताल सञ्चालनमा आएसँगै उपचार सेवाका लागि अन्यत्र धाउनुपर्ने बाध्यता हटेको छ ।” गाउँपालिकाले चालु आर्थिक वर्षदेखि पालिकावासीलाई आफ्नै गाउँ ठाउँमा स्वास्थ्य सेवा दिन कसर बाँकी नराख्ने प्रतिबद्धता गरेअनुसार सेवासमेत प्रारम्भ भएको उहाँले बताउनुभयो । “पालिकाभित्र रहेका नागरिकलाई गाउँघर र टोलटोलमामा स्थानीय सरकारको अनुभूति दिलाउने गरी स्वास्थ्य क्षेत्रमा पनि केही नयाँ कामको थालनी गरिहाल्नुपर्छ भन्ने हाम्रो योजना थियोे”, गाउँपालिका अध्यक्ष लोकप्रसाद बञ्जराले भन्नुभयो, “तिनै योजनाअनुरुप आधारभूत अस्पताल सञ्चालन ल्याइएको हो ।

तपाईको प्रतिक्रिया