फुटबलका महान् खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन

  पुष १५, २०७९

काठमाडौं, पुस १५ : ब्राजिलका विश्वप्रख्यात महान फुटबल खेलाडी पेले (एड्सन आरान्तेस दो नासिमेन्तो) को ८२ वर्षको उमेरमा ब्राजिलमा निधन भएको छ । केही वर्षयता मिर्गौला र प्रोटेस्टको समस्या झेलिरहेका पेलेको गए राति ब्राजिलस्थित साओपाउलोमा रहेको अल्बर्ट आइन्सटाइन अस्पतालमा निधन भएको हो ।

आन्द्राको क्यान्सरबाट ग्रसित पेले उपचारका लागि एक महिनाअघि अस्पताल भर्ना हुनुभएको थियो । अस्पतालमा उपचारकै क्रममा पेलेको मृत्यु भएको उहाँको परिवार र आफन्तले जनाएको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले जनाएको छ ।

पेलेले ब्राजिललाई विश्वकप फुटबल प्रतियोगिताको तीनपटक उपाधि दिलाएका थिए । पेले सहभागी भएको सन् १९५८, १९६२ र १९७० को विश्वकप फुटबल प्रतियोगितामा ब्राजिलले उपाधि जितेको थियो । यसैगरी सन् २००० मा पेले फिफा प्लेयर अफ द सेन्चुरीको उपाधिबाट सम्मानित भएका थिए । पेलेले आफ्नो २१ वर्षे खेल जीवनमा १३६३ खेल खेल्दै १२८१ गोल गर्नुभएको छ ।

१७ वर्षको उमेरमा अन्तर्राष्ट्रिय खेलाडीका रूपमा सुरु भएको खेल जीवनमा उहाँले सन् १९५८ देखि १९७० को बीचका विश्वकप प्रतियोगितामा भाग लिनुभएको थियो । उहाँले ब्राजिलको लागि ९२ खेल खेल्दै ७७ गोल गर्नुभएको छ । फुटबलमा जादुमय क्षमता भएका पेलेलाई सन् २००० मा फिफा प्लेयर अफ दि सेन्चुरी घोषणा गरिएको थियो ।

पेले पछिल्लो समय क्यान्सरबाट पीडित थिए । उनी ब्राजिलको मिनास गेराइसमा सन् १९४० अक्टोबर २३ मा जन्मिएका थिए ।

तपाईको प्रतिक्रिया