चीनबाट स्वास्थ्य सामग्री ढुवानी गर्न बोलपत्र आह्वान

  बैशाख ११, २०७७

काठमाडौं, वैशाख ११ : नेपाली सेनाले चीनबाट खरिद गर्न लागेको कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि आवश्यक स्वास्थ्य सामग्री ढुवानीको बोलपत्र आह्वान गरेको छ ।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार ढुवानीका लागि बुधबार बोलपत्र आह्वान गरिएको र शुक्रबार बिहान समय सकिने बताए। सार्वजनिक खरिद ऐन र नियमावलीअनुसारै बोलपत्र आह्वान गरेको सेनाले जनाएको छ ।

सेनाले चीनबाट करिब २ अर्ब २६ करोड बराबरको स्वास्थ्य सामग्री ल्याउन लागेको हो। ६७ थरीका उक्त स्वास्थ्य सामग्रीहरु करिब ३ सय ४० टनको हुने सेनाले जनाएको छ । खरिद गरेका सामग्री गोन्जाउमा जम्मा गरिदिने भनेपछि सेनाले हवाई वा सडक यातायातमध्य एकबाट ल्याउने जनाएको छ ।

प्रवक्ता पाण्डेले सामग्री ल्याउनेको लागि बेइजिङस्थित नेपाली राजदूतावास र नेपालस्थित चिनियाँ राजदूतावासँग पनि सम्पर्क गरेको बताएका छन् । मन्त्रिपरिषद्को चैत १६ को निर्णयअनुसार सरकार–सरकार (जीटूजी) प्रक्रियामार्फत स्वास्थ्य सामग्री खरिद गरेर ल्याउन सेनालाई जिम्मा दिइएको थियो ।

तपाईको प्रतिक्रिया