चितवन,पुस १४ : भरतपुर महानगरपालिकाले ‘मेयरसँग बालबालिका कार्यक्रम’अन्तर्गत कक्षा १ देखि ५ सम्मका नौ सय ३४ विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।
महानगरको शिक्षा महाशाखाले आज भरतपुर महानगरपालिका वडा नं २८ मा रहेको आधारभूत विद्यालय सिसावास ९१–८० बाट कपडा वितरण सुरु गरेको हो ।
कार्यक्रमको सुरुआत गर्दै महानगर प्रमुख रेनु दाहालले जाडो समयमा चिसोका कारण विद्यालयमा बालबालिकाको अनियमितता हुने भन्दै महानगरले विगत तीन वर्षदेखि यो कार्यक्रम चलाउँदै आएको बताउनुभयो ।
यस आर्थिक वर्षमा १५ वटा सामुदायिक विद्यालयमा रहेका बालबालिकालाई न्यानो कपडा वितरण गर्ने कार्यक्रमअन्तर्गत आज भरतपुर महानगरको पश्चिम क्षेत्रमा रहेका १० वटा विद्यालयका नौ सय ३४ बालबालिकालाई वितरण गरिएको हो ।
नारायणी नदी र राप्ती नदी तटीय क्षेत्रमा बसोबास गर्ने अल्पसङ्ख्यक, सिमान्तकृत समुदायका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिनेछ । यस आर्थिक वर्षमा न्यानो कपडा वितरणका लागि रु १५ लाख बजेट विनियोजन गरिएको छ ।
यसअघि तीन वर्षमा ४५ विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिसकिएको छ । किशोरी छात्रालाई साइकल वितरण, लोपोन्मुख समुदायका विद्यार्थीलाई वार्षिकरुपमा रु तीन हजार छात्रवृत्ति प्रदान गर्दै आएको उहाँले जानकारी दिनुभयो ।
अघिल्लो वर्षदेखि सुरु गरिएको छात्रवृत्ति वितरण कार्यक्रमबाट छ सय ९२ जना लाभान्वित भएको पौडेलको भनाइ छ । यी कार्यक्रम नियमित सञ्चालन हुने उहाँले बताउनुभयो ।