नयाँ सरकार गठनसँगै सेयर बजारमा उत्साह, ५६ अकंले बढ्यो सुचक

  पुष ११, २०७९

काठमाडौं, पुस ११ : सेयर बजारमा सोमबार उत्साह छाएको छ । नेप्से सूचकसँगै कारोबार रकममा पनि उत्साहजनक वृद्धि भएको हो । सूचक ५६.८८ अंकले बढेर १९२४.०९ विन्दुमा पुगेको छ । यस्तै, दैनिक सेयर कारोबार रकम पनि २ अर्ब रुपैयाँ नाघेको छ । देशमा नयाँ सरकार गठन प्रक्रिया अघि बढेसँगै सेयर बजारका लगानीकर्ताहरु पनि उत्साहित बनेका छ । विशेषगरी, सेयर बजारका लागि भाग्यशाली मानिएका व्यक्ति अर्थमन्त्रीमा नियुक्ती हुने लगभग पक्का भएपछि बजारले पनि सकारात्मक बन्दै स्वागत गरेको देखिन्छ ।

नयाँ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सोमबारदेखि नै मन्त्रीपरिषद् गठन सुरु भइसकेको छ । नयाँ सरकारमा एमालेका उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्री बन्ने पक्का जस्तै भएको छ । विगतमा पनि विष्णु पौडेलले अर्थमन्त्री पद सम्हाल्दा सेयर बजारको प्रदर्शन राम्रो रहेको थियो । जसका कारण लगानीकर्ता उत्साहित बनेको विश्लेषण गरिएको छ । बजारले २०७३ साउनमा १८८० को तत्कालीन अलटाइम हाई रेकर्ड बनाएको समयमा पनि पौडेल नै अर्थमन्त्री रहेका थिए ।

पौडेल पछिल्लो पटक अर्थमन्त्री बन्दा पनि सेयर बजार सकारात्मक गतिमा अघि बढेको थियो । जसका कारण लगानीकर्तामा पुनः आशा पलाएको अनुमान गर्न सकिन्छ । त्यसो त, राजनीतिक घटनाक्रमहरु असर सेयर बजारमा तत्काल देखिने गर्दछ । सेयर बजारमा दीर्घकालीन सुधारका लागि भने सरकारले लिने नीति, वृहत अर्थतन्त्र, ब्याजदर तथा तरलतालगायत विविध पक्षहरुको झन् ठूलो भूमिका हुने गर्दछ । यससँगै, लगानीकर्ताहरुले सूचीकृत कम्पनीहरुको वित्तीय अवस्था, व्यवस्थापन लगायत अन्य आधारभूत पक्षहरुमा पनि विशेष ध्यान दिनुपर्ने हुन्छ ।

 

तपाईको प्रतिक्रिया