खोटाङ, पुस १० : खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित झिसेपुका आगलागी पीडित परिवारलाई राहत रकम उपलब्ध गराएको छ ।
खोटाङ समाज हङकङद्वारा जिल्लामा स्थापना गरिएको प्राकृतिक प्रकोप सहयोग कोषले झिसेपुका तीन घर आगलागी पीडित परिवारलाई आइतबार घटनास्थलमै पुगेर राहत रकम उपलब्ध गराएको हो । आगलागीबाट पूर्णरूपमा क्षति व्यहोर्नुभएकी मैयाँ श्रेष्ठलाई रु १० हजार तथा आंशिक क्षति भएका कृष्ण श्रेष्ठ र कर्णकुमार श्रेष्ठलाई नगद रु सात÷सात हजार राहत रकम उपलब्ध गराइएको कोषाध्यक्ष युगशन किराँतले जानकारी दिनुभयो । राहत रकम कोषका अध्यक्ष भोगेन राई ‘एक्ले’ले पीडित परिवारलाई हस्तान्तरण गर्नुभएको हो ।
शनिबार दिउँसो मैयाँ श्रेष्ठको घरमा विद्युत् सर्ट भएर सुरु भएको आगलागी स्थानीय बासिन्दा, प्रहरी र नेपाली सेनाको संयुक्त टोली नियन्त्रणमा लिएको थियो । आगलागीमा नगद, सुनचाँदी, लत्ताकपडा, भाडाकुँडा, अन्नपातलगायत सम्पूर्ण बन्दोबस्तीका सामग्री जलेर नष्ट हुँदा रु ८४ लाख ५६ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले जानकारी दिनुभयो ।
प्रनाउ मुकारुङका अनुसार मैयाँको तीनतले घर, नगद रु एक लाख, चाँदी २० तोला, मोबाइल, टिभीलगायत घरमा भएका सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा रु २७ लाख ४५ हजार बराबरको क्षति भएको छ । यस्तै, कृष्णको तीनतले घर, नगद रु एक लाख ५० हजार, दुई तोला सुन, एक थान मोबाइललगायत सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा रु २८ लाख ८३ हजार बराबरको क्षति भएको छ ।
यसैगरी, कर्णकुमारको तीनतले घर तथा घरमा भएका सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा रु २८ लाख २८ हजार बराबरको क्षति भएको जनाइएको छ । आगलागीमा घर तथा घरमा भएका सम्पूर्ण सामग्री गुमाएका पीडित परिवार आफन्तकहाँ आश्रय लिएर बसिरहेका वडाध्यक्ष महेन्द्र राईले जानकारी दिनुभएको छ ।
प्राकृतिक प्रकोप सहयोग कोषले यसअघि केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका पाँच घर आगलागी पीडित परिवारलाई नगद रु १०÷१० हजार राहत रकम उपलब्ध गराएको थियो । आगलागीबाट घर पूर्णरूपमा जलेर नष्ट भएका दीपक गुरुङ, रमेश परियार, शुभराज राई र डिल्लीकुमार श्रेष्ठ तथा उक्त आगलागी नियन्त्रणमा लिने क्रममा अकबर राईको घर भत्काइएको थियो ।
स्थानीय दीपक गुरुङको घरबाट सुरु भएको आगोले पाँचवटा घर तथा दर्जन बढी पसल जलेर नष्ट हुँदा रु चार करोड ९९ लाख ३३ हजार बराबरको क्षति भएको थियो । बाक्सिला बजारका आगलागी पीडितका लागि अहिले राहत सङ्कलन गर्ने काम भइरहेको छ ।