पार्टीभित्रका अस्थिरतावादी प्रवृत्तिविरुद्ध लडौं : खनाल

  बैशाख १०, २०७७

काठमाडौँ, वैशाख १० : नेकपा वरिष्ठ नेता झलनाथ खनालले अस्थिरतावादी प्रवृत्तिविरुद्ध लड्न आह्‍वान गरेका छन् । हालै सरकारले ल्याएको राजनीति दल विभाजनसम्बन्धी अध्यादेशले राजनीतिक अस्थिरता निम्ताउन सक्ने बहस भैरहेका बेला सत्तारुढ दलका वरिष्ठ नेता खनालको यस्तो भनाइ आएको हो ।

नेता खनालले पार्टी सचिवालय बैठकमा पनि अध्यादेशको विरोध गरेका थिए। उनले अस्थिरतावादी प्रवृत्तिविरुद्ध सिंगो पार्टीलाई एक हुन पनि अपिल गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसका अवसरमा उनले बुधबार जारी गरेको विज्ञप्तिमा पार्टीमा ‘अराजकतावादी र नोकरशाही प्रवृत्ति’ बढ्न थालेको पनि संकेत गरेका छन् ।

‘पार्टीलाई वैचारिक, राजनीतिक, सैद्धान्तिक र संगठनात्मक रुपले सुदृढ र एकताबद्ध गरेर तथा पार्टीलाई नीति, विधि र पद्धतिसंगत ढंगले अघि बढाएर मात्र उपलब्धिहरुलाई निरन्तरता दिन सकिन्छ। तर, पार्टीमा अराजकतावादी र नोकरशाही प्रवित बढ्न थाले र मुलुकलाई अस्थिरतातिर उन्मुख बनाउने प्रवृत्ति बढ्न थाले भने उपलब्धिहरु नै गुम्ने खतरा हुन्छ,’ खनालले विज्ञप्तिमा भनेका छन् ।

यतिबेला कुनै पनि प्रकारका अस्थिरतावादी प्रवृतिविरुद्ध एकताबद्ध हुँदै कोरोना भाइरसको महामारी नियन्‍त्रण गर्नुपर्ने आवश्‍यकता नेता खनालले उल्लेख गरेका छन्।सबै एक भएर महामारीविरुद्ध लडे मात्रै कोरोनाविरुद्ध सफलता हात पर्ने र राष्ट्र तथा मानव जातिलाई बचाउन सकिने उनले बताएका छन् ।

नेता खनालले पार्टी एकताका काम टुंगाउन, कार्यदिशाका आधारमा पार्टी काम विस्तार गर्न तथा संगठनात्मक एकता सुदृढ गर्न पनि माग गरेका छन् । नेकपामा अध्यादेशलाई लिएर विवाद भइरहेका बेला नेता खनालले सार्वजनिक अपिलमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

तपाईको प्रतिक्रिया