काठमाडौं, वैशाख ८ : संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) ले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा नेपाल सरकारले गरेको अथक प्रयासमा सहयोग पु-याउने प्रतिवद्धता अनुरुप एकहजार २०० वटा व्यक्तिगत सुरक्षा कवच (पिपिइ) हस्तान्तरण गरेको छ ।
नेपाल, चीन र यूएनएफपीएबीच दक्षिण–दक्षिण साझेदारी पहल अन्तर्गत चीन सरकारबाट उपलब्ध ती किट आज यहाँ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई प्रदान गरिएको हो । तीन करोड ४ लाख ८० हजार मूल्य बराबरको ती पिपिइ किटमा सर्जिकल मास्क, एन– १९ मास्क, फेस सिल्ड,आइगगल्स्,हेड एण्ड शुकभर्स,लङ्ग स्लिभ् इम्पर्भियस गाउन्स, डिस्पोजेबल ब्याग्स एण्ड गम्बुट्स रहेका यूएनएफपिएद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
स्वास्थ्य सेवा विभाग,व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्र डोटेलले “प्राप्त किट सही र ठीक सयममा आइपुगेको छ । यसले कोभिड–१९ को सङ्क्रमणको प्रतिकार्यमा महत्वपूर्ण र ठूलो सहयोग पुग्ने छ । ” कोरोना रोकथाम र नियन्त्रण गर्न महत्वपूर्ण ती सामग्री सहयोग गरेकोमा यूएनएफपीए र चीन सरकारलाई विशेष धन्यवाद उहाँले दिनुभयो ।
“नेपालमा कोभिड–१९ सङ्क्रमणको बढ्दो संख्या पुष्टि भएसँगै धेरै मानिसहरुमा परीक्षण र उपचारको आवश्यकता भएकाले अग्रमोर्जामा रहेर सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीहरूको रक्षा गर्नु महत्वपूर्ण छ । यस समयमा उनीहरुको कार्यस्थलको वातावरणका साथै स्वास्थ्य र मनोसामाजिक सम्बन्धी आवश्यकताहरुमा ध्यान दिनु पर्दछ ।” नेपालका लागि यूएनएफपीएका देशीय प्रतिनिधि सुश्री लुब्ना बाकीले भन्नुभयो । “नेपालमा काम गरिरहेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र अन्य राष्ट्रसंघीय निकायहरूसँगै रहेर कोरोना महामारीको पूर्वतयारी र प्रतिकार्यमा नेपाल सरकारलाई सहयोग गर्न यूएनएफपीए तयार छ ।” विज्ञप्तिमा भनिएको छ ।
यूएनएफपीएले सरकार र साझेदारहरूलाई जीवन बचाउन अत्यावश्यक प्रजनन स्वास्थ्य सेवाहरूको निरन्तरता सुनिश्चित गर्न आव्हान गरिरहेको छ । पिपिइकिट्सको अतिरिक्त यूएनएफपीएले सरकार र स्थानीय साझेदारहरूसँगको समन्वयमा कोभिड–१९ कोे महामारीको दौरान क्वारेन्टाइनका महिला र किशोरीहरूको तत्काल सरसफाइ र संरक्षण आवश्यकताहरू सम्बन्धी मर्यादा किट ( डिग्निटी किट्स) सरकार र स्थानीय सङ्घ सस्थाको समन्वयमा यूएनएफपीएले प्रदान गरिरहेको विज्ञप्तिमा जनाइएको छ ।
ती किट्समा १४ किसिमका फरक फरक सामानहरु जस्तै साबुन, पुनः प्रयोग योग्य मासिक प्याड, र महिला तथा किशोरीहरुका लागि आवश्यक अन्य सामाग्रीहरु समावेश रहेका छन् । “अरु बेलाका सङ्कटको समयमा जस्तै यस महामारीमा महिला तथा किशोरीहरु नजिकका आफन्त तथा घनिष्ट व्यक्तिहरुबाट हिंसामा पर्ने तथा अन्य घरेलु हिंसाको वढी जोखिममा हुन्छन् । यसैले एकद्वार सङ्कट व्यवस्थापन केन्द्र , सुरक्षित आवास र हेल्पलाइनबाट लैङ्गिक हिंसा पीडितलाई जीवन रक्षाका लागि आवश्यक सहयोग र हेरचाहलाई थप सुदृढ बनाउनुपर्छ । ”युएनएफपीए प्रतिनिधिले बाकीले भन्नुभयो ।