युरोपमा लकडाउन खुकुलो पारिँदै

  बैशाख ०८, २०७७

बर्लिन, वैशाख ८ : युरोपका केही राष्ट्रले काेराेना भाइरस (काेभिड–१९) राेकथामका लागि जारी लकडाउन खुकुलो पार्न सुरु गरेका छन् । संक्रमित संख्याका आधारमा विश्वमै पाँचौं प्रभावित जर्मनीले सोमबारबाट साना पसल खोल्न अनुमति दिएको छ भने परीक्षा नजिकिँदै गरेका विद्यालय र कलेज सुचारु गर्ने भएको छ ।

जर्मनीले गत सातामात्र संक्रमण दर घट्दै गएको र कोभिड–१९ महामारी नियन्त्रणमै रहेको दाबी गरेको थियो। यद्यपि उसले दोस्रो चरणको संक्रमण फैलन सक्ने भन्दै सबैलाई सचेत रहन आग्रह गरेको थियो ।

पोल्यान्डले पनि सोमबारबाटै सबै पार्क र जंगल खुला गरेको छ भने नर्वेले साना बालबालिकाका लागि विद्यालय खुला गरेको छ। चेक गणतन्त्रमा व्यापारका लागि हवाई मार्ग सुचारु गरिएको छ। अर्को युरोपेली राष्ट्र अल्बानियाले खानी र तेल उद्योग सञ्चालन गर्ने भएको छ।

संक्रमित र मृतक संख्या घट्दै गएका युरोपका केही राष्ट्रले लकडाउन खुकुलो गरे पनि कोभिड–१९ बाट अति प्रभावित इटालीले मे ३ पछि ‘दोस्रो चरण’ को लकडाउन तयारी गरिरहेको छ। केही स्वास्थ्यकर्मीका भनाइलाई मान्ने हो भने इटालीमा दोस्रो चरणको लकडाउन ६ देखि ८ महिनासम्म लम्बिन सक्छ। मृतक संख्याका आधारमा इटालीपछि अति प्रभावित स्पेन र फ्रान्सले पनि अझै केही साता कडाइ गर्ने भएका छन् ।

स्पेनमा युरोपकै अति कडा लकडाउन जारी रहे पनि बालबालिकाका लागि भने अर्को साताबाट केही समय घरबाहिर जान दिइने छ। युरोपमा मात्र विश्वको लगभग आधा अर्थात् १० लाख ५० हजारभन्दा बढी कोभिड–१९ संक्रमित छन् र मृतक संख्या १ लाखभन्दा बढी पुगेको छ।

जोन हप्किन्स विश्वविद्यालयका अनुसार डिसेम्बर अन्तिममा चीनको हुबेई प्रान्तस्थित वुहान सहरबाट फैलिएको कोभिड–१९ संक्रमणका कारण सोमबार बिहानसम्म विश्वभर २४ लाख ४ हजारभन्दा बढी संक्रमित पुष्टि भइसकेका छन् भने १ लाख ६५ हजार २ सय ३४ जनाले ज्यान गुमाइसकेका छन् ।

सबैभन्दा धेरै अमेरिकामा ४० हजार ६ सय ८२ जनाको मृत्यु भएको छ। त्यसपछि क्रमशः इटाली, स्पेन, फ्रान्स, बेलायत र बेल्जियममा धेरैको मृत्यु भएको छ। युरोपका यी ५ राष्ट्रमा मात्र ८५ हजार ५ सय ७४ जनाको मृत्यु भइसकेको कान्तिपुर अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया