इटालीका रेफ्री डेनिलीले उद्घाटन खेल सञ्चालन गर्ने

  मंसिर ०४, २०७९

दोहा, मङ्सिर ४ : इटालीका रेफ्री डेनिली ओर्साटोले विश्वकप फुटबल प्रतियोगिता २०२२ अन्तर्गत हुने उद्घाटन खेल सञ्चालन गर्ने हुनुभएको छ । आयोजक कतार र इक्वेडरबीच पहिलो खेल हुँदैछ ।

फिफाले युरोपका सबैभन्दा अनुभवी रेफ्री भएकाले ओर्साटोलाई पहिलो खेल खेलाउने जिम्मेवारी दिइएको जानकारी दिएको छ । ओर्साटो दुई दिनअघि मात्र ४७ वर्ष लाग्नुभएको थियो ।

सन् २०१६ सम्म फिफाको नियममा अन्तर्राष्ट्रिय खेल सञ्चालन गर्ने रेफ्रीको उमेर हद ४५ वर्ष तोकिएको थियो । ओर्साटो आधुनिक फुटबलमा सबैभन्दा प्रतिष्ठित रेफ्री हुनुहुन्छ । उहाँले पछल्ला विश्वकपका पाँचमध्ये दुई फाइनल खेलाउनुभएको छ ।

पछिल्लो विश्वकपमा उहाँ भिडियो रिभ्यु अफिसियल हुनुहुन्थ्यो । सन् २०२० च्याम्पियन्स लिगको फाइनल पनि ओर्साटोले नै खेलाउनुभएको थियो। गत वर्ष सम्पन्न युरो च्याम्पियनसिपमा पनि उहाँ तीन खेलमा संलग्न हुनुहुन्थ्यो। युरो च्याम्पियनसिप उहाँकै देश इटालीले जितेको हो ।

तपाईको प्रतिक्रिया