जटिल बन्दै कन्ट्याक्ट ट्रेसिङ

  बैशाख ०८, २०७७

काठमाडौं, वैशाख ८ : संक्रमितहरूको संख्या थपिँदै जाँदा उनीहरूको निकट सम्पर्कमा रहेकाहरुको ‘कन्ट्याक्ट ट्रेसिङ’ जटिल बन्दै गएको छ । आइतबारसम्म पुष्टि भएका ३१ संक्रमितमध्ये ७ जना सवार अन्तर्राष्ट्रिय र आन्तरिक उडानका यात्रुको खोजी प्रहरीले गरिरहे पनि २ सय १५ जना अझै प्रहरीको सम्‍पर्कबाहिर छन् ।

अन्य २४ संक्रमितको निकट सम्र्पकमा आएकाहरुको खोजी भने उनीहरुको ‘ट्राभल हिस्ट्री’ यकिन गर्न र उनीहरू सवार स्थानीय गाडी पत्ता लगाउन नसक्दा ट्रेसिङ कठिन बनेको छ ।

दोस्रो संक्रमित निको भएर घर गइसक्दा उनी सवार कतार एअरवेजको विमान क्यूआर ६५२ का ५ विदेशीसहित १ सय ५८ मध्ये ४ यात्रु प्रहरीको सम्र्पकमा छैनन् । यो विमानमा सवार बाग्लुङकी एक किशोरीमा चैत १५ र अर्की महिलामा चैत २० मा संक्रमण पुष्टि भएको थियो । तीमध्ये ६५ वर्षीया संक्रमित महिला शनिबार निको भईवरी घर फर्किएकी छन् ।

बाग्लुङका दुवै संक्रमित काठमाडौंबाट पोखरासम्म यति एअरको विमानमार्फत गएका थिए । प्रहरीले उक्त विमानमा सवार ५६ मध्ये ४४ यात्रुलाई सम्र्पक गरेको छ । अन्य १२ यात्रु कहाँ छन् भन्नेबारे प्रहरीसँग उत्तर छैन ।

तेस्रो संक्रमित सवार यूएईको सारजाहबाट आएको एअर अरेबियाको विमान जी ९५३७ मा सवार १ सय ६९ यात्रुमध्ये २ यात्रुको सम्र्पक ठेगाना प्रहरीले अझै पत्ता लगाएको छैन ।

स्वास्थ्य मन्त्रालयले संक्रमितहरू सवार विमानका सबै यात्रु सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने बताउँदै आए पनि यात्रुहरुको सम्र्पक पहिल्याउन कठिनाइ हुँदा उनीहरु कहाँ छन भन्ने अन्योल बढेको छ । जनस्वास्थ्य विज्ञहरुका अनुसार संक्रमित सवार विमानका सबै यात्रुको सम्भव भएसम्म द्रुत परीक्षण गर्नुपर्छ वा उनीहरु आफैं क्वारेन्टाइनमा बस्नुपर्छ । संक्रमितसँग सवार एक जना मात्रै यात्रु पनि क्वारेन्टाइनमा बसेनन् वा परीक्षण भएन भने संक्रमण फैलिने जोखिम कायमै रहन्छ ।

दुबईबाट दिल्ली हुँदै काठमाडौं आएका धनगढीका पाँचौं संक्रमित सवार विमानका १ सय ३० मध्ये ९२ यात्रु मात्रै सम्र्पकमा आएका छन् । यी संक्रमित काठमाडौंबाट धनगढीसम्म बुद्ध एअरको विमानमा गएका थिए । उनी सवार विमानका ७१ यात्रुमध्ये ६१ जना मात्रै सम्र्पकमा आएका छन् ।

चैत ४ गते बेलायतबाट कतारको दोहा हुँदै आएका काठमाडौं पेप्सीकोलाका १५ औं र १६ औं संक्रमित यात्रु सवार कतार एअरवेजको विमान क्यूआर ६४४ का १ सय ५३ यात्रुको पनि प्रहरीले खोजी जारी राखेको छ । प्रहरीका अनुसार उक्त विमानमा सवार ७१ यात्रुको मात्र सम्र्पक ठेगाना पत्ता लागेको छ ।

चैत ३ गते बेलायतबाट कतारको दोहा हुँदै काठमाडौं आएर चितवनस्थित घर पुगेका १७ औं र १८ औं संक्रमित सवार कतार एअरवेजको विमान क्यूआर ६५० मा सवार ७१ यात्रुको पनि प्रहरीले खोजी सुरु गरेको छ । उनीहरुमा ६ गते संक्रमण पुष्टि भए पनि प्रहरीले आइतबार अपराह्नदेखि मात्रै उक्त विमानमा सवार यात्रुको खोजी सुरु गरेको हो । प्रहरी प्रवक्ता एसएसपी उमेशराज जोशीले उक्त विमानमा सवार ४ यात्रुको सम्र्पक पत्ता लागिसकेको र अन्य ६७ जनाको खोजी तीव्रताका साथ थालिएको बताए । उनले भने, ‘प्रहरीको खोजी कार्यमा आमनागरिकले साथ र सहयोग नदिएसम्म छिटो हुँदैन ।’

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले भारतबाट आएका तथा वीरगन्ज र उदयपुरको मस्जिदमा भेटिएका संक्रमितहरुको निकट सम्र्पकमा आएकाहरुको पहिचान कठिन भइरहेको बताए । उनले लकडाउनपछि पनि भारतबाट खुला सिमाना हँुदै लुकीछिपी आउने क्रम जारी रहेको उल्लेख गर्दै त्यस्ता व्यक्तिहरु संक्रमित पुष्टि भए कन्ट्रयाक्ट ट्रेसिङ झनै जटिल बन्ने बताए । ‘विदेशबाट आएका कतिपयले नेपालको सिम भएको मोबाइल पनि नबोकेकाले कल डिटेलका आधारमा लोकेसन पत्ता लगाउन सकिएको छैन,’ उनले भने ।

कैलाली घर भएका चौथो संक्रमित काठमाडौंबाट नेपालगन्ज गएपछि अटो चढेर कोहलपुर पुगेका थिए । उनी त्यहाँबाट माइक्रो चढेर धनगढीस्थित घर पुगेका थिए । त्यस्तै वैशाख ५ मा संक्रमण पुष्टि भएका चितवनका १७ औं र १८ औं संक्रमित पनि लन्डनबाट कतार हुँदै काठमाडौं आएर एक रात बसी सार्वजनिक बस चढेर चितवनस्थित घर पुगेका थिए । प्रहरीले उनीहरु सवार बसको पहिचान गर्न सकेको छैन ।

निर्देशक डा. पाण्डेले संक्रमितहरुको स्थानीय यात्राको विस्तृत विवरण प्राप्त गर्न नसकिएको र कतिपय सार्वजनिक सवारीमा यात्रा गरेकाले पनि ट्रेसिङको काम जटिल बन्दै गएको बताए । ‘भारतमा संक्रमितको संख्या बढ्दै गएकाले यता पनि जोखिम बढेको छ । हामीले आजसम्म संक्रमित सबैको कन्ट्रयाक्ट ट्रेसिङ जतिसक्दो छिटो सक्नुपर्छ,’ पाण्डेलाई उद्धृत गर्दै कान्तिपुरमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया