काठमाडौं, मङ्सिर १ : कतार विश्वकप अघि खेलिएको मैत्रीपूर्ण अभ्यास खेलमा बलिया देशले सफलता हात पारेका छन् । बुधबार राति भएको खेलमा अर्जेन्टिना, इटाली र जर्मनी विजयी भएका छन् । संयुक्त अरब इमिरेट्स (यूएई) मा बुधबार राति भएको खेलमा अर्जेन्टिनाले यूएईलाई ५–० गोलले हरायो ।
अर्जेन्टिनाको जितमा एन्जल डी मारियाले दुई गोल गर्नुभयो । जुलियन अल्भारेज , लियोनल मेस्सी र जोआकिन कोर्रेयाले एक एक गोल गर्नुभयो । पहिलो हाफमा चार गोल गरेको अर्जेन्टिनाले दोस्रो हाफमा चार गोल थपेको थियो । कतार विश्वकपमा अर्जेन्टिना समूह ‘सी’ मा परेकाे छ । यस समूहमा मेक्सिको, पोल्यान्ड र साउदी अरब छन् ।
यसैगरी अर्को खेलमा इटालीले अल्बनियालाई ३–१ गोलले हरायो । पुनरागमन जित निकालेको इटालीका लागि भिन्सेन्जो ग्रिफोले दुई तथा जियोभानी डि लोरेन्जोले एक गोल गर्नुभयो । अल्बनियाका एड्रियन इस्माजिलीको गोल सान्त्वना बनेको थियो ।
अर्को खेलमा जर्मनीले ओमानलाई १–० गोलले हरायो । प्रतिस्पर्धात्मक खेलमा जर्मनीका लागि निकलस फुलक्रुगले निर्णायक गोल गर्नुभयो । अर्को खेलमा पोल्यान्डले चिलीलाई १–० गोलले हरायो । घरेलु मैदानमा पोल्यान्डलाई जिताउन क्रिजस्तोफ पियाटिकले गोल गर्नुभयो । यस्तै अमेरिका र कोसोभोले २–२ गोलको बराबरी खेले ।