मोरङ, मङ्सीर २ : आसत्र प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा दृष्टिविहिन, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिक मतदातालाई विशेष प्राथमिकता दिनेगरी तयारी गरिएको छ । मोरङमा मतदान केन्द्रमा वुथ निर्माण कार्य सुरु भएसँगै फरक क्षमता भएका व्यक्तिलाई मतदानका लागि सहजीकरणको व्यवस्था गरिएको हो ।
मोरङका आठ सय ३९ केन्द्रमा मतदान अधिकृतले सुरक्षित, शान्तिपूर्ण र भयरहित वातावरणमा मतदान सम्पन्न गर्न राजनीतिक दलसँग सर्वसदलीय बैठक, वुथ निर्माणलगायत अन्य व्यवस्थापकीय कार्य प्रारम्भ गरेको कार्यालयका सूचना अधिकारी हेम वुढाथोकीले बताउनुभयो ।
जिल्लाका सम्पूर्ण मतदान केन्द्रलाई अपाङ्गता भएका व्यक्ति, अशक्त, जेष्ठ नागरिकमैत्री बनाउनुका साथै पहिलो प्राथमिकता साथ मतदान गराउने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो ।
यसैगरी दृष्टिविहीनका लागि निर्वाचनसम्वन्धी जानकारीका लागि ब्रेललिपीको प्रचार सामग्री मतदान केन्द्र टाँस गरिनुका साथै मतदानका लागि सहयोगीको व्यवस्था गरिएको छ ।
कार्यालयले आज निर्वाचन क्षेत्र नं ६ अन्तर्गतका ५० केन्द्रमा अनुगमन सम्पन्न गरी शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न गर्न निर्देशन दिएको छ । अनुगमन गरिएका केन्द्रमा बुथ निर्माण, इन्टरनेट जडान, राजनीतिक दलसँग सर्वदलीय बैठक सम्पन्न भएको कार्यालय सूचना अधिकारी वुढाथोकीले बताउनुभयो ।
यस्तै मोरङ क्षेत्र नं ६ ‘१’ अन्तर्गत विराटनगर–७ आदर्श विद्यालय मतदानस्थलमा सम्पूर्ण कर्मचारी महिला रहेका छन् । तीन मतदान केन्द्र रहेको उक्त स्थानमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक, सहयोगी, स्वंयमसेवक, नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी महिला रहेको सूचना अधिकारी वुढाथोकीले बताउनुभयो ।
उक्त मतदान केन्द्र ‘१’मा रहनु भएकी मतदान अधिकृत दीपिका खड्कीले शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्नु प्रमुख जिम्मेवारी रहेको बताउँदै खानेपानी, इन्टरनेट, शौचालय, वुथ निर्माणलगायत कार्य सुरु गरेको जानकारी दिनुभयो । उक्त मतदान स्थलमा २४ जना कर्मचारी परिचालन गरिएको छ ।
मोरङमा कूल सात लाख ३५ हजार पाँच सय २५ जनाले मतदान गर्ने प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ । जसमा पुरुषको सङ्ख्या तीन लाख ७४ हजार तीन सय २६ र महिलाको सङ्ख्या तीन लाख ६१ हजार एक सय ९३ रहेका छन् ।