काठमाडौँ, मङ्सिर १ : लोकतन्त्रलाई सबल बनाउने वैधानिक माध्यम निर्वाचन भएकाले यसलाई उत्साहका रुपमा लिनपर्ने विभिन्न राजनीतिक दलका नेताहरुले प्रतिक्रिया दिनुभएको छ ।
मङ्सिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा आफ्नो पक्षमा वातावरण बनाउन चुनावी घरदैलोमा रहेका नेताहरुले निर्वाचन लोकतन्त्रको स्वाभाविक प्रक्रिया भएकाले यसलाई पार्टीले उत्साहका रुपमा लिएको बताउनुभएको छ ।
जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले रासससंग कुराकानी गर्दै निर्वाचन लोकतन्त्रका असल अभ्यास र प्रक्रिया भएकाले पार्टी पूर्ण उत्साहका साथ निर्वाचनमा होमिएको बताउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचनलाई लोकतन्त्रको सामन्य अभ्यासका रुपमा लिएको छु, जनताले आफ्ना प्रतिनिधि चयन गर्ने र सरकार बनाउने माध्यम निर्वाचन नै भएकाले यसले हामीलाई नयाँ ऊर्जा थपेको छ ।”
सप्तरी क्षेत्र २ बाट उम्मेदवार रहनुभएका जसपा अध्यक्ष यादवले निर्वाचनमा पार्टी उत्साहका साथ लागेको र मतदाताको पनि उत्साहजनक सहभागिता रहने विश्वास व्यक्त गर्नुभयो । उहाँले जनमतका लागि मेहनत गरिएकाले निर्वाचनमा सकारात्मक परिणाम आउनेसमेत विश्वास व्यक्त गर्नुभयो ।
निर्वाचन आयोगका अनुसार आज राति १२ बजेपछि मौन अवधि सुरु हुँदैछ । सो मौन अवधिमा कुनै पनि उम्मेदवारले मत माग्न र प्रचारप्रसार गर्न पाउँदैनन् । प्रचार गर्ने आज अन्तिम दिन भएकाले मतदातालाई आकर्षण गर्न उम्मेदवारलाई भ्याइनभ्याइ छ । एकैदिन धेरै कार्यक्रममा सहभागी हुन शीर्षस्त नेताहरुलाई धपेडी परेको छ ।
महोत्तरी क्षेत्र नं ३ बाट चुनावी प्रतिस्पर्धामा रहनुभएका लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०का अध्यक्ष महन्थ ठाकुर चुनावी वातावरण बनाउन प्रचारको अन्तिम दिन आज दिनभर घरदैलो तथा विभिन्न छलफल र सभामा सहभागी हुनुभयो । उहाँले निर्वाचनलाई लोकतन्त्रको उत्सवका रुपमा लिनुपर्ने बताउनुभयो ।
लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले निर्वाचन लोकतन्त्रमा जनताले प्राप्त गरेको अधिकारको प्रयोग हो भन्दै आवधिक निर्वाचनमार्फत् प्रत्येक पाँच वर्षमा आफ्ना उम्मेद्वार चयन गर्नेगरेको बताउनुभयो । उहाँले यसपटकको निर्वाचनमा मतदाताले अघिल्लो सरकारले के ग¥यो भनेरभन्दा पनि आफ्ना आवश्यकतालाई स्पष्टरुपमा उम्मेदवारमाझ प्रस्तुत गरेको बताउनुभयो ।
सर्लाही क्षेत्र २ बाट उम्मेदवारी दिनुभएका महतोले भन्नुभयो, “निर्वाचनमा नीतिगत रुपमा एजेण्डा उठेको छैन । जनताको दृष्टिकोण विकासमा केन्द्रित छ । स्थानीय विकास पूर्वाधारका कुराको अपेक्षा गरेका छन् ।”
उहाँले यसपटकको निर्वाचनमा मधेसका मुद्दा नउठेको बताउनुभयो । विगत पाँच वर्ष कुनै पनि अधिकारको सङ्घर्ष नभएकाले मधेसको मुद्दा नउठेको हुनसक्ने उहाँको भनाइ छ । महतोकै क्षेत्रबाट प्रतिस्पर्धीमा नेपाल समाजवादी पार्टीका महेन्द्रराय यादवले पनि प्रतिस्पर्धामा हुनुहुन्छ ।
सिरहा २ बाट उम्मेदवार बन्नुभएका पूर्वमन्त्री राजकिशोरले यादवले चुनावी घरदैलो तथा भेटघाटका क्रममा जनतामा उत्साह रहेको प्रतिक्रिया पाएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “विगतका जनप्रतिनिधिले काम गरेनन् भन्ने जनताको गुनासो छ, यो पटक उम्मेदवारको चुनावी क्षेत्र बद्लिएको छ । विगतको क्षेत्र हेरेर विकासको लहर आउछ कि भन्ने उहाँको अपेक्षा छ जनअपेक्षालाई पूरा गर्ने गरी निर्वाचित जनप्रतिनिधिले काम गर्नुपर्छ ।”
यादवको अनुभवमा यो पटक निर्वाचन प्रचार शैली फरक भएको र यसले परिवर्तनको आभाष दिएको छ । निर्वाचन आचारसंहिता कडाइकासाथ लागू भएकाले विगतमा भन्दा यो पटकको निर्वाचन प्रचार वैचारिक र व्यावहारिक रहेको उहाँले उल्लेख गर्नुभयो ।
लोसपाका नेताद्वय शरत्सिंह भण्डारीले महोत्तरी क्षेत्र २ र लक्ष्मणलाल कर्णले पर्सा क्षेत्र १ बाट प्रतिस्पर्धा गर्दै हुनुहन्छ । बारा क्षेत्र ३ बाट प्रमोद गुप्ताले उम्मेदवारी दिनुभएको छ । जसपाका सङ्घीय परिषद् अध्यक्ष अशोक राई सुनसरी निर्वाचन क्षेत्र १ बाट उम्मेदवार बन्नुहुने भएको छ ।