बुटवल, कात्तिक ३० : गृहमन्त्री बालकृष्ण खाणले नेकपा (एमाले) र राप्रपाको गठबन्धन अप्राकृतिक भएको र त्यसले दुर्घटना निम्त्याउन सक्ने बताउनुभएको छ ।
आफूलाई अतिअग्रगामी बताउने एमाले र अतिपश्चगामी राप्रपाबीचको तालमेल कुनै पनि मानेमा मिल्न नसक्ने उहाँले बताउनुभयो । सत्ता–गठबन्धनले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका गृहमन्त्री खाणले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको माला जप्ने एमाले र सङ्घीयता विरोधी, राजसंस्था पुनःस्थापनाको मुद्दा लिएर हिँडेको राप्रपाबीचको तालमेल के कुरामा मिलेको हो भनी प्रश्न गर्नुभयो ।
उहाँले अहिले पनि सत्ता–गठबन्धन अगाडि रहेको बताउँदै गठबन्धनलाई सफल बनाउने ऐतिहासिक दायित्वबाट नचुक्न पनि पार्टीका नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।
रुपन्देही क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार गृहमन्त्री खाणले अन्य स्थानमा भन्दा रुपन्देहीमा गठबन्धनको आकार पनि ठूलो भएको भन्दै गठबन्धनलाई सक्षमताका साथ नेतृत्व दिनसक्ने हो भने जीत निश्चित रहेको बताउनुभयो ।
मन्त्री खाणले रुपन्देहीलाई देश विकासको मोडल बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । कांग्रेसकै नेतृत्वमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न भएको र अन्य ठूला योजनामा समेत कांग्रेसले नेतृत्व गरेको बताउँदै उहाँले आगामी दिनमा रुपन्देहीलाई उत्पादनको केन्द्र बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रुवाहक मात्रै नभएर मालवाहक जहाज उडान गर्न चाहेको बताउँदै त्यसका लागि उत्पादनको केन्द्र बनाउनुपर्ने उहाँको भनाइ थियो ।
उहाँले भन्नुभयो, “त्यो पनि हामी गर्छौं, अब कृषि, डेरी, पोल्ट्रीलगायतका अन्य आयोजना अगाडि बढाउनुपर्छ, त्यसका लागि हामीले काम गर्नेछौँ ।” उहाँले प्रदेशको राजधानी सार्दा रुपन्देही आसपासका मतदाताको मन कुँडिएको बताउँदै प्रदेश सरकारको निर्णयलाई ‘करेक्सन’ गर्नुपर्ने भनाइ राख्नुभयो ।