ढोरपाटन, कात्तिक ३० : आगामी मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन नजिकिएसँगै बागलुङमा राजनीतिक सरगर्मी ह्वात्तै बढेको छ । चिया पसलदेखि चौतारासम्म चुनावकै चर्चा चलेको छ ।
यस पटक बागलुङमा पाँच दलीय गठबन्धन र नेकपा (एमाले)बीचनै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । दुई प्रतिनिधि र चार प्रदेश क्षेत्र रहेको बागलुङमा नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी पनि अहिले चुनावमा होमिएको छ ।
प्रतिनिधिसभामा गठबन्धबाट क्षेत्र नम्बर १ मा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र क्षेत्र नम्बर २ मा शिक्षामन्त्री तथा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेल उम्मेदवार बनेपछि चार वटा प्रदेश क्षेत्रमा कांग्रेसका उम्मेदवार छन् । त्यसमध्ये बागलुङ क्षेत्र नम्बर १ (१) मा कांग्रेसका दीपेन्द्रबहादुर थापा उम्मेदवार हुनुहुन्छ । उहाँसँग नेकपा एमाले बागलुङका अध्यक्ष हीराबहादुर केसी प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।
अन्य तीन क्षेत्रमध्ये यस क्षेत्रमा थापा र केसीबीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ । जिल्लाका अधिकांश नेताको ध्यान यही क्षेत्रमा छ । थापा र केसीले यसभन्दा अगाडि भएका विभिन्न निर्वाचनमा हार ब्यहोर्नुभएको छ ।
त्यस कारण यसपालि दुवै जनालाई जित हात पार्ने चर्को दबाब छ । विसं २०७० मा भएको संविधानसभा निर्वाचनमा पराजय हुनुभएका केसी र २०७४ को प्रदेशसभा सदस्यमा हारेका थापा यस पटक जित आफ्नो पक्षमा पार्ने दाउमा हुनुहुन्छ ।
अहिलेको निर्वाचनमा थापालाई पाँच दलीय गठबन्धनको साथ छ भने केसी एमालेको मात्रै भरमा हुनुहुन्छ । केसीले त्यस बेला कांग्रेस नेता स्व हरि खड्कासँग पराजित हुनुभएको थियो । खड्काले एक हजार छ सय मतान्तरले केसीलाई पराजित गर्नुभएको थियो ।
त्यस बेला खड्काले १३ हजार पाँच सय मत प्राप्त गर्दा केसीले ११ हजार नौ सय मत ल्याउनुभएको थियो । खड्का निर्वाचित भएको केही समयमा दुर्घटनामा परी मृत्यु भएपछि संविधानसभा उपनिर्वाचन भएको थियो । उपनिर्वाचनमा उहाँकी पत्नी चम्पादेवी खड्काले एमाले नेतृ मनकुमारी केसीलाई पराजित गर्नुभएको थियो ।
त्यसयता यस क्षेत्रमा एमालेले आफ्नो सङ्गठनलाई मजबुद बनाउँदै गएको छ । अघिल्लो निर्वाचनमा एमालेका नेता इन्द्रलाल सापकोटासँग पाँच हजार नौ सय २६ मतान्तरले पराजित हुनुभएका थापाले ११ हजार नौ सय ८९ मत पाउनुभएको थियो । सापकोटाले भने १७ हजार नौ सय १५ मत प्राप्त गर्नुभएको थियो । त्यस बेला सापकोटालाई नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाले सघाएको थियो ।
गत स्थानीय तहको निर्वाचन मत परिणामलाई हेर्दा गठबन्धन थोरै मतले अगाडि देखिन्छ । बागलुङ पालिकाका ११ र काठेखोला गाउँपालिकाका आठ गरी १९ वडा यस क्षेत्रमा पर्छन् । त्यसमध्ये छ वडा एमाले र १३ वडा गठबन्धनले जितेको छ । बागलुङ नगरपालिकाको १२, १३ र १४ नम्बर वडा प्रदेश (२) मा पर्दा थापालाई जित निकाल्न मुस्किल हुने धेरैले आँकलन गरेका छन् ।
स्थानीय तहको निर्वाचनमा गठबन्धनले १६ हजार ६१ मत प्राप्त गरेको थियो भने एमालेले १४ हजार तीन सय ७० मत पाएको थियो । यो मत परिणामलाई हेर्दा गठबन्धन एक हजार छ सय ९१ मतले अगाडि देखिन्छ ।
यस क्षेत्रमा थापा र केसीसहित राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका डिल्लीप्रसाद आचार्य, सामाजिक एकता पार्टीका भक्तबहादुर विक र स्वतन्त्र उम्मेदवार दीपेन्द्र हमाल चुनावी मैदानमा होमिनुभएको छ ।
सत्ताइस मनदानस्थल र ६२ मतदान केन्द्र रहेको यस क्षेत्रमा ५० हजार पाँच सय ८० मतदाता रहेका छन् । अस्थायी मतदाताका लागि दुई मतदान केन्द्र पनि यही क्षेत्रमा स्थपना गरिने भएको छ । जिल्ला कारागारमा रहेका ५२ जना कैदीबन्दीले पनि यही क्षेत्रबाट मतदान गर्ने जिल्ला निर्वाचन कार्यालय बागलुङका प्रमुख यज्ञप्रसाद रिजालले बताउनुभयो । अस्थायी मतदाताले प्रतिनिधिसभा तर्फ समानुपातिक मतदान मात्रै गर्न पाउने छ ।