कटारी, कात्तिक ३० : उदयपुर क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका नेपाली कांग्रेसका उम्मेदवार डा नारायण खड्काले नेकपा (एमाले)ले स्थानीय विकासको नाममा भ्रमको खेती गरेको आरोप लगाउनुभएको छ ।
त्रियुगा नगरपालिका–१० मा आज भएको चुनावीसभालाई सम्बोधन गर्दै उहाँले लोकतन्त्रको रक्षाका लागि गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो ।
उहाँले जनता आवास कार्यक्रममार्फत दलित समुदायलाई घर निर्माण गर्न सहयोग गरेको र गत निर्वाचनमा आफूले गरेको प्रतिबद्धता पूरा गरेको बताउनुभयो । त्रियुगा नदीमा बाध बाध्ने कामको सुरुआत र सगरमाथा विमानस्थल निर्माण भइरहेको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा वाम गठन्धनका प्रदेशसभा १ (२) का उम्मेदवार हिमाल कार्कीले एमालेले चुनावी अभियानमा विभिन्न स्थानमा पुगेर आफूहरुका पहलमा भएका विकासका काममाथि भ्रम छर्ने काम गरेको आरोप लगाउनुभयो ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का पोलिटब्युरो सदस्य सुरेश राई, नेकपा (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य बलदेव चौधरीले संविधानको रक्षा गर्ने काम बामलोकतान्त्रिक शक्तिले गर्ने बताउनुभयो ।