भक्तपुरमा निर्वाचन सामग्री हस्तान्तरण

  कार्तिक २९, २०७९

भक्तपुर, कात्तिक २९ : जिल्ला निर्वाचन कार्यालय भक्तपुरले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि आवश्यक तयारी पूरा गरेको छ ।

आज यसबारेमा जानकारी दिँदै कार्यालयका प्रमुख नरेन्द्रप्रसाद न्यौपानेले तालिमदेखि कर्मचारी परिचालनसम्मको सम्पूर्ण तयारी पूरा गरेको बताउनुभएको हो । निर्वाचनमा खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत र कर्मचारीलाई दुई चरणमा तालिम दिइन बताउनुभयो ।

कार्यालय प्रमुख न्यौपानेले भन्नुभयो, “निर्वाचनमा खटिने एक हजार सात सय ६१ कर्मचारीलाई तालिम प्रदान गरिसकेका छौँ, हिजो सोमबारबाट मतदानस्थल खटिने कर्मचारीलाई निर्वाचन सामग्री बुझाउने कार्य सुरु गरेका छौँ, ३० गतेसम्म बुझेका सामग्री लिएर सुरक्षाकर्मीसहित कर्मचारी मतदानस्थलमा खटिनेछन् ।”

मतपत्रसहित २८ प्रकारको निर्वाचनसम्बन्धी सामग्री लिएर खटिने कर्मचारी ३० गते मतदानस्थल पुगेर अनूसूची टाँस्नेलगायतका काम गर्नेछन् । यस वर्ष नयाँ मतदातालाई मतदाता परिचयपत्र भने वितरण नगरिने भएको छ । नयाँ मतदाताले आफ्नो परिचय खुल्ने परिचयपत्रबाट मतदान गर्न पाउने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।

निर्वाचन कार्यालयका प्रमुख न्यौपानेले निर्वाचनका लागि प्रत्येक मतदान केन्द्रमा आठ जनाको दरले कर्मचारी खटिने बताउनुभयो । जसमा प्रत्येक मतदान केन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, पाँच जना सहायक कर्मचारी र एक जना कार्यालय सहयोगी खटाइने भएको छ । निर्वाचनका लागि भक्तपुरमा दुई हजार दुई सय १८ सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।

भक्तपुरमा दुईवटा प्रतिनिधिसभा र चारवटा प्रदेशसभा गरी छ पदको लागि मतदान हुने छन् । भक्तपुरमा कूल ७६ मतदानस्थलमा दुई सय १९ मतदान केन्द्र रहेका छन् ।

जिल्लामा कूल एक लाख ९२ हजार तीन सय ७२ मतदाता रहेकोमा क्षेत्र नं १ मा ४९ हजार आठ सस ३९ पुरुष र ५१ हजार चार सय २२ महिला गरी एक लाख एक हजार दुई सय ६१ मतदाता रहेका छन् ।

क्षेत्र नं २ मा ४४ हजार आठ सय ४४ पुरुष, ४७ हजार ६२ महिला र पाँच अन्य गरी कूल ९१ हजार एक सय ११ मतदाता रहेको उहाँले जानकारी दिनुभयो ।

त्यसैगरी कार्यालयले कात्तिक १७ गतेबाट सुरु गरेको मतदाता शिक्षा अभियान जारी रहेको छ । आफूले रोजेको उम्मेदवारलाई कसरी मत दिने र मत बदर नहुने गरी कसरी मतदान गर्ने भन्नेबारे मतदातालाई शिक्षा दिने गरी भक्तपुर जिल्लाका चारवटै पालिकाका वडामा १७ गतेदेखि मतदाता शिक्षा दिन अभियान सुरु गरेको र यो कार्य जारी रहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकृत भीमबहादुर बिसीले जानकारी दिनुभयो ।

उहाँले जिल्लाका भक्तपुर, मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगरपालिका प्रत्येक वडामा दुई दुई जनाका दरले ४८ स्वयंसेविकालाई तालिम दिएर वडा वडामा परिचालन गरिएको उहाँले बताउनुभयो । मतदाता शिक्षा अभियान आगामी मङ्सिर १ गतेसम्म सञ्चालन हुनेछ ।

तपाईको प्रतिक्रिया