कञ्चनपुरमा मतदाता रिझाउन अन्तिम कसरत गर्दै प्रदेशसभा उम्मेदवार

  कार्तिक २९, २०७९

महेन्द्रनगर, कात्तिक २९ : आसन्न मङ्सिर ४ गते प्रतिनिधिसभा सदस्यसँगै प्रदेशसभा सदस्यका लागि हुन लागेको निर्वाचनमा ठूला दलहरुलाई बागी उम्मेदवारको डर रहेको छ । कञ्चनपुरमा सुदूरपश्चिम प्रदेशसभा सदस्य निर्वाचनको प्रतिस्पर्धा रोचक र पेचिलो बन्दै गएको छ ।

सरदमुकाम महेन्द्रनगर रहेको कञ्चनपुर क्षेत्र नं ३ प्रदेशसभा ‘क’ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका सुदूरपश्चिम प्रदेश अध्यक्ष धर्मराज जोशीदेखि बहालवाला प्रदेश आर्थिक मामिलामन्त्री प्रकाश रावलसम्म चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

नेकपा एमालेसित तालमेल गरेर चुनावी मैदानमा रहनुभएका जोशी, एकीकृत (समाजवादी पार्टी) का रावलसँगै सत्ता गठबन्धनका उम्मेदवार माओवादी नेता टेकेन्द्रप्रसाद भट्टबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । जोशीलाई एमालेको साथ छ । उक्त निर्वाचन क्षेत्रमा ४६ हजार पाँच सय ८४ मतदाता छन् ।

त्यसैगरी क्षेत्र नं ३ प्रदेशसभा ‘ख’ मा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका बेलबहादुर राना र एमालेका जिल्ला अध्यक्ष सुरेन्द्र विष्टबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । विसं २०७४ को निर्वाचनमा थोरै मतान्तरले माओवादी केन्द्रका मानबहादुर सुनारसित पराजित हुनुभएका रानालाई अहिले तिनै सुनारको साथ छ ।

राना दोधारा चादँनीको प्रतिनिधित्व गर्दै यहाँको समग्र विकासका लागि आफू प्रदेशसभामा दोस्रो पटक उम्मेदवार बनेको बताउनुहुन्छ । उहाँले झोलुङ्गे पुल, महाकाली नदीमा पक्की पुल, सडक पूर्वाधारलगायत संरचना निर्माण आफ्नो पार्टीका नेता मन्त्री हुँदा भएको उल्लेख गर्दै बाँकी विकासका काम अघि बढाउन भूमिका निर्वाह गर्ने बताउनुभयो ।

भीमदत्त नगरपालिकाका पूर्वनगरप्रमुख रहनुभएका एमाले नेता विष्ट खैरभट्टीदेखि कुतियाकवरसम्मको विकासको योजना ल्याउने भन्दै चुनावी दौडाहामा हुनुहुन्छ । राना र विष्ट प्रतिस्पर्धी रहेको उक्त क्षेत्रमा ५१ हजार दुई सय ३८ मतदाता छन् ।

क्षेत्र नं ३ को प्रदेशसभा ‘क’ मा ११ र ‘ख’ मा पाँच जना प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फका उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ ।

त्यसैगरी क्षेत्र नं २ मा प्रदेशका पूर्वमन्त्रीदेखि युवा सङ्घ नेपालको पूर्व केन्द्रीय अध्यक्ष रहिसक्नुभएका एमाले युवानेता बचनबहादुर सिंहसम्म प्रदेशसभाका उम्मेदवार हुनुहुन्छ ।

क्षेत्र नं २ प्रदेशसभा ‘क’ मा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका ओमविक्रम भाट, एमालेबाट बचनबहादुर सिंह, नागरिक उन्मुक्ति पार्टीबाट गीता चौधरीलगायत नौजना उम्मेदवार रहनुभएको छ । यहाँ भाट, सिंह र चौधरीबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।

नागरिक उन्मुक्ति पार्टीबाट प्रदेशसभाको निर्वाचनमा होमिनुभएकी चौधरी यस पटक नयाँलाई मतदाताले अवसर दिनेमा आफू ढुक्क रहेको बताउनुभयो । “सीमान्तकृत वर्गकी उम्मेदवार भएकाले मतदाताको साथ पाउनेमा आशावादी छु”, चौधरीले भन्नुभयो, “५० प्रतिशत महिला मतदाता रहेको ठाउँमा म एक्ली महिला उम्मेदवार छुँ ।” उहाँले यहाँ विगतमा थारू समुदायलाई भोट बैंकका रुपमा मात्रै प्रयोग गर्ने गरिएको आरोप लगाउनुभयो । यस क्षेत्रमा ४६ हजार ६ सय ८८ मतदाता छन् ।

त्यस्तै क्षेत्र नं २ प्रदेशसभा ‘ख’ मा सत्ता गठबन्धनबाट संविधानसभा सदस्यसमेत रहिसक्नुभएका कांग्रेसका बहादुरसिंह थापा, एमालेका कृपाराम राना (पूर्व सांसद) र एकीकृत समाजवादीका नेता एवं पूर्वप्रदेशमन्त्री लालबहादुर खड्कासहित नौजना उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ । अघिल्लो निर्वाचनमा विजयी खड्का, कांग्रेस उम्मेदवार थापा र एमालेका रानाबीच नै यहाँ मुख्य प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । उक्त क्षेत्रमा ५० हजार आठ सय ८९ मतदाता छन् ।

यस्तै क्षेत्र नं १ प्रदेशसभातर्फ १६ प्रतिस्पर्धी हुनुहुन्छ । निर्वाचन अधिकृत कष्णप्रसाद नेपालका अनुसार नुसार प्रदेश नं १ प्रदेशसभा ‘क’ मा आठ तथा प्रदेशसभा ‘ख’ मा आठ उम्मेदवारबीच चुनावी भिडन्त हँुदैछ । प्रदेशसभा ‘क’ मा ४९ हजार ६ सय ५२ र प्रदेशसभा ‘ख’ मा ४९ हजार चार सय ५८ मतदाता छन् । प्रदेशसभा ‘क’ मा सत्ता गठबन्धनबाट कांग्रेसका बन्धु राना र एमालेका वीरबहादुर थापाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

यस्तै प्रदेशसभा ‘ख’ मा सत्ता गठबन्धनबाट कांग्रेसका दिवानसिंह विष्ट (संविधानसभा सदस्य) र एमालेका जिल्ला सचिव पल्लभराज भट्टबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । कञ्चनपुरमा प्रत्यक्षतर्फ कूल छ प्रदेशसभा सदस्यका लागि ५० उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया